नेपाल सामू अमेरिकाको शक्ति चलेन



न्युज अफ नेपाल, काठमाडौं ।

आईसीसी मेन्स क्रिकेट विश्वकप लिग २ प्रतियोगिताअन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिकोणीय सिरिजमा नेपाल पहिलो खेलमा जितेको छ ।

अमेरिकाविरुद्ध ओमानको अल अमरेट क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ५ विकेटले जितेको हो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपाली टोलीले ५ विकेट गुमाएर ४९ ओभरमा भेटायो । नेपालको तर्फबाट ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोेडे भने रोहितकुमार पौडेलले नटआउट रहँदै ६२ रन को योगदान दिए ।

त्यस्तै विनोद भण्डारीले ३७ रन बनाए । रोहित र विनोदले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरेका हुन् । रोहितले तीन छक्का प्रहार गर्दा विनोदले १ छक्का प्रहार गरे । ४ विकेट १ सय ४५ रनमा निकालेपनि अमेरिकाको शक्ति नेपाल सामू चल्न सकेन ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिकाका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रन बनाए । नेपालको बलिङमा सन्दीप लामिछाने, सुशान भारी र विक्रम सोबले २/२ विकेट लिए ।

कुशल शतक बनाउन चुके

नेपालका ओपनर कुशल भुर्तेलले शतक बनाउन चुकेका छन् । कुशल मेडन शतकतिर लम्किरहेको बेला ८४ रनमा आउट हुन पुगे । उनी स्पिनर निसर्ग पटेलको बलमा एलबीडब्ल्यू भएपछि आउट भएका हुन् । उनले शानदार प्रदर्शन गर्दै ९३ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । यो ओडीआईमा नेपाली ब्याटसम्यानले बनाएको तेस्रो उच्चतम व्यक्तिगत रन हो ।

अहिलेसम्म नेपाली ब्याटसम्यानमा पूर्व कप्तान पारस खड्काले सर्वाधिक १ सय १५ रन बनाएका छन् । उनले उक्त रन २०१९ मा यूएईविरुद्ध बनाएका थिए । दोस्रो उच्चतम रन ८६ रन हो, जुन रोहित कुमार पौडेलको गएको शुक्रबार पपुवा न्युगिनीविरुद्ध बनाएका हुन् ।
ओपनिङमा उच्चतम साझेदारी

नेपालका लागि ओपनर आसिफ शेख र कुशलले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । यो नेपालको ओपनिङ साझेदारीमा उच्चतम साझेदारी हो । उक्त साझेदारीमा आशिफले २३ रनको योगदान दिएका थिए । यसअघि ओडीआईमा पहिलो विकेटका लागि उच्चतम साझेदारी ६१ रनको थियो । सन् २०१९ मा यूएईविरुद्ध कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्