नौवटा कम्पनीमा सर्किट लाग्यो



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आइतबार उल्लेख्य सुधार भएको छ । यस दिन नेप्से ७१ दशमलव ४३ अंकले बढेर २९४७ दशमलव ४२ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार रुपियाँ पुगेको छ ।

यस दिन कुल २३१ कम्पनीको १ करोड ७१ लाख कित्ता शेयर ९ अर्ब ४४ करोड ३५ हजार रुपियाँमा कारोबार भएको छ । यस दिन नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये नेसनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङ्दी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेकको हो ।

आइतबार कारोबार भएका १३ समूहमध्ये सामूहिक लगानी कोषको मात्रै शून्य दशमलव शून्य ५ बिन्दुले ओरालो लागेको छ । तर, बैंकिङ समूह २४ दशमलव २, व्यापार समूह ४२, होटल तथा पर्यटन समूह ७७ दशमलव ४८, विकास बैंक समूह २७२ दशमलव ५२, जलविद्युत् समूह २१३ दशमलव ५४, वित्त समूह ११४ दशमलव ९७, निर्जीवन बीमा समूह ४२४ दशमलव ७७, उत्पादन समूह २९९ दशमलव ६९, अन्य समूह १८ दशमलव २२, लघुवित्त समूह ११३ दशमलव ६५, जीवन बीमा समूह २९७ दशमलव ७१ र लगानी समूह २ दशमलव ३५ अंकले वृद्धि भएका छन् ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ७३ करोड ७७ लाख आठ हजार रुपियाँको शेयर किनबेच भएको छ । त्यस्तै युनाइटेड मोदीको ४५ करोड ११ लाख १७ हजार, अपि पावर कम्पनीको ३१ करोड ५१ लाख ६४ हजार, नेसनल हाइड्रोपावरको २९ करोड ३४ लाख ७७ हजार र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको २५ करोड ७२ लाख १३ हजार रुपियाँको शेयर किनबेच भएको छ ।समग्र परिसूचकमा उच्च वृद्धि भएको दिने सिटिजन म्युचुअल फन्ड, रैराङ हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फन्डकाको लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्