‘बाउन्स ब्याक’ बजारमा ४५ कम्पनीको मूल्यमा सर्किट



नेपाल समाचारपत्र, काठमाडौं ।

अघिल्लो दिन नकारात्मक सर्किट लाग्दै उच्च अंकले गिरावट भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ‘बाउन्स ब्याक’ भएको छ । यस दिन नेप्से १६१ दशमलव ९४ अंकले वृद्धि हुँदै नेप्से परिसूचक २९८० दशमलव ७८ बिन्दुमा पुगेको छ । कुल २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेको समग्र बजार पुँजीकरण ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख रुपियाँ पुगेको छ ।

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच पुँजी बजारमा देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भएको समाचार सार्वजनिक भएलगत्तै बजारले पुनः गति समातेको हो । यस दिन ६० कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । त्यसमध्ये ४५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यति ठूलो संख्यामा सर्किट लाग्नु नेप्सेको इतिहासमा सम्भवत पहिलो हो ।

कारोबार सबै समूहको सूचकमा वृद्धि भएको छ । जसमध्ये बैंकिङ समूह ७८ दशमलव २, व्यापार १३३ दशमलव शून्य ३, होटल तथा पर्यटन १९४ दशमलव ८३, विकास बैंक ५०३ दशमलव ३६, जलविद्युत् २८३ दशमलव ५, वित्त २५६ दशमलव २२, निर्जीवन बीमा ६४३ दशमलव ६३, उत्पादन ३९८ दशमलव ११, अन्य १५० दशमलव २५, लघुवित्त २४१, जीवन बीमा ८१७ दशमलव ४, सामूहिक लगानी कोष शून्य दशमलव १७ र लगानी ६ दशमलव ६७ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ३० लाख ९१ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख ९६ हजार ३१३, माथिल्लो तामाकोसी रु २४ करोड ९२ लाख ४८ हजार ५४२, नेसनल हाइड्रोपावर १९ करोड ९९ लाख ३२ हजार र आईसीएफसी फाइनान्सको १९ करोड ८७ लाख ३६ हजार रुपियाँको कारोबार भएको छ । ‘बाउन्स ब्याक’ भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, आईसीएफसी फाइनान्स, एनआईसी एसिया बैंकको ऋणपत्र, सनराइज ब्ल्यूचिप फन्ड र कुमारी इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्