नेप्सेमा ५० अंकको गिरावट



काठमाडौं, (नेस) ।

अघिल्लो दिन झिनो अंकको सुधार भए पनि साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० दशमलव १३ अंकले घटेर २९२६ दशमलव ८९ बिन्दुमा झरेको छ । साताको अन्तिम दिनको कारोबारसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार रुपियाँको हाराहारीमा सीमित भएको छ ।

बिहीबार कुल २३० कम्पनीको ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपियाँ बराबरको १ करोड ८१ लाख ९ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस दिन कारोबार भएका १३ वटै समूहको सूचक ओरालो लागेको छ । जसमध्ये बैंकिङ समूह १६ दशमलव ४३, व्यापार समूह ३८ दशमलव ५६, होटल तथा पर्यटन समूह शून्य दशमलव ९६, विकास बैंक समूह १८६ दशमलव १३, वित्त समूह ११३ दशमलव ८८, उत्पादन समूह १२७ दशमलव शून्य ५, अन्य समूह ३७ दशमलव ५२, लघुवित्त समूह २३ दशमलव ४७, जीवन बीमा समूह ३४२ दशमलव शून्य २, सामूहिक लगानी कोष समूह शून्य दशमलव १४ र लगानी समूह ३ दशमलव ५१ अंकले घटेका छन् ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ४० लाख १२ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै अपि पावर कम्पनीको ३२ करोड ९९ लाख ९८ हजार, ङादी ग्रुप अफ पावरको २३ करोड ३१ लाख ४६ हजार, युनाइटेड मोदी २२ करोड २० लाख ७४ हजार र हिमालयन डिस्टिलरीको २० करोड १० लाख ७९ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

समग्र परिसूचकमा उच्च अंकको गिरावट भए पनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै चन्द्रागिरी हिल्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य पनि बढी बढेको छ । तर, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको शेयरमूल्य अन्य कमपनीको भन्दा धेरै घटेको छ।

प्रतिक्रिया दिनुहोस्