नेप्सेमा साढे दुई महिनायताकै उच्च गिरावट



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार गिरावट आउने क्रममा मंगलबार झण्डै ७० अंकको गिरावट आएको छ । यससँगै नेप्से लामो समयपछि तीन हजारभन्दा कमको बिन्दुमा झरेको छ । ३ हजार ३ सय बिन्दु नजिक पुगेको नेप्से घट्दै गएर मंगलबार २९७५ दशमलव ८४ बिन्दुमा झरेको छ । यस दिन नेप्सेमा ६९ दशमलव शून्य ५ अंकको गिरावट आएको छ । यो साढे दुई महिनायताकै उच्च गिरावट हो । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख रुपियाँमा झरेको छ ।

नेप्सेमा आएको गिरावटलाई शेयर विश्लेषकहरूले सामान्य बजार करेक्सनको रूपमा व्याख्या गरे पनि यसले लगानीकर्तालाई भने ठूलो धक्का दिएको छ । मंगलबार परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । २२७ वटा कम्पनीको २ करोड ३१ लाख ९ हजार कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार रुपियाँ भएको छ । यस दिन कारोबार भएका १३ वटै समूहको सूचक ओरालो लागेको छ । जसमध्ये बैंकिङ समूह २२ दशमलव ९९, व्यापार समूह १०६ दशमलव शून्य १, होटल तथा पर्यटन समूह ४६ दशमलव ७, विकास बैंक समूह २०५ दशमलव ७४, जलविद्युत् समूह १२४ दशमलव २७, वित्त समूह १०१ दशमलव ४८, निर्जीवन बीमा समूह ३७२ दशमलव ५८, उत्पादन समूह १९८ दशमलव ७३, अन्य समूह ६२ दशमलव ७४, लघुवित्त समूह १६४ दशमलव शून्य ६, जीवन बीमा समूह ४४७ दशमलव ९८, सामूहिक लगानी कोष समूह शून्य दशमलव १३ र लगानी समूह २ दशमलव ८ अंकले घटेका छन् । कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको । सो कम्पनीको १ अर्ब एक करोड ५ लाख ७३ हजार रुपियाँको शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ४९ करोड २३ लाख १३ हजार, अपि पावर कम्पनीको २९ करोड ७८ लाख २६ हजार, नेपाल बैंकको २९ करोड ७४ लाख ६९ हजार र गुडविल फाइनान्सको २९ करोड ६५ लाख एक हजार रुपियाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा उच्च अंकको गिरावट भई दुई सय कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा पनि कर्णाली डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फन्डलगायत दुई दर्जन कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । तर, रुरु जलविद्युत् परियोजना, माउन्टेन हाइड्रो नेपाल, हिमलायन ऊर्जा विकास कम्पनी, सिभिल लघुवित्त र घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्