बल प्रयोग गरेरै भए पनि फोहोर बिसर्जन गरिने


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले बुधबारबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं उपत्यकाको फोहोर बुधबार बिहान ६ बजेबाट उठाउने निर्णय भएको बताउनुभयो । उहाँले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर सडक विभागले सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने बाटो तत्काल व्यवस्थापन गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो ।

फोहोर उठाउने र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने निर्णय भएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने सहमति भएको छ ।’

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गरिने जानकारी दिँदै भन्नुभयो–‘स्थानीयस्तरमा स–साना विषय भए महानगरपालिकाले समन्वय गर्छ । मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु, उहाँहरूको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौं । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौं । भएन भने नियमका साथै बल प्रयोग गरेरै भए पनि व्यवस्थापन गर्छौं ।’

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले स्थानीयका समस्या महानगरपालिकाले नै समाधान गर्न सकिने भए आफैं गर्ने नसकिने समस्या भए हामी सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्ने जानकारी दिनुभयो । उहाँले सहयोगका लागि महानगरपालिकाले प्रधानमन्त्री र विभिन्न निकायसँग अपिल गर्दै आएको जानकारी पनि दिनुभयो ।

सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको जिकिर गर्दै मेयर शाक्यले भन्नुभयो– ‘काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो ।’

शाक्यले स्थानीयहरूलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको दाबी गर्दै भन्नुभयो– ‘काठमाडौं महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको थियो, अहिले पनि उहाँहरूका जायज र काठमाडौं महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौं ।’

काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाइ गर्ने प्रयास हुन्छ । त्यति गर्दा पनि अवरोध कायम भए कारबाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।’

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।