नाफा ‘बुक’ गर्दा नेप्सेमा गिरावट



काठमाडौं, (नेस) ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झण्डै ५० अंकको गिरावट आएको छ । यस दिन नेप्से ४९ दशमलव १८ अंकले घटेर ३०४४ दशमलव ८७ बिन्दुमा सीमित भएको छ ।

केही साता अघिसम्म नेप्से वृद्धि हुँदै गएको भए पनि पछिल्ला केही दिन भने नेप्सेमा गिरावट हुन थालेको छ । जसका कारण नेप्से सूचक एक महिनाको स्थितिमा देखिएको छ । ३३ सयको हाराहारीमा पुगिसकेको नेप्से परिसूचकमा तीन साताको अवधिमा करिब साढे दुई सय अंकले घटेको छ । लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से परिसूचकमा गिरावट आएको एक थरीको विश्लेषण रहेको छ भने अर्कोथरीको मौद्रिक नीतिमा १२ करोडको ऋण सीमाको नीतिका कारणले पनि बजार प्रभावित बनाएको भनाइ छ । तर, जेहोस् पछिल्लो एक साताको अवधिमा डेढ सय अंकले नेप्सेमा गिरावट आएको छ । समग्र परिसूचकमा उच्च अंकको गिरावट हुँदा कारोबार रकम भने १५ अर्ब ६६ करोड रुपियाँभन्दा बढीको भएको छ । आइतबार कुल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

घटेको दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। तर, रुरु जलविद्युत्को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सिंगटी हाइड्रोको शेयरमूल्य पनि ७ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्