नौ कम्पनीको शेयर मूल्यमा सर्किट



काठमाडौं, (नेस) ।
लगातार दुई दिनसम्मको उच्च गिरावटपछि साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७ दशमलव ६० अंकले बढेर ३०९४ दशमलव शून्य ५ बिन्दुमा पुगेको छ ।
कुल २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार कित्ता शेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेको कुल बजार पुँजीकरण ४३ खर्ब २३ अर्ब रुपियाँभन्दा बढी पुगेको छ । परिसूचकमा वृद्धिसँगै नौ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, श्रीइन्भेस्टमेन्ट फाइनान्स, गुहेयश्वरी मर्चेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर, गुडविल फाइनान्सको ऋणपत्र, सिटिजन म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट र गोर्खाज फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।
यस दिन १३ समूहमध्ये पाँच बढेका छन् भने बाँकी आठ समूह ओरालो लागेका छन् । होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त र लघुवित्त समूह बढ्दा बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन, अन्य, जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूह घटेका हुन् ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ९३ करोड ८४ लाख ४० हजार रुपियाँको शेयर किनबेच भएको छ । यस्तै अरुण काबेली पावरको ४५ करोड ६ लाख ७१ हजार, रिडी हाइड्रोपावरको ३४ करोड ५६ लाख ३० हजार, महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख ९२ हजार र कामना सेवा विकास बैंकको २९ करोड ९५ हजार ३३ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्