नेप्से हालसम्मकै उच्च बिन्दुमा



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । साताको चौथो दिन कारोबार दिन बुधबार नेप्से ३२ दशमलव शून्य ४ बिन्दुले वृद्धि हुँदै ३१९२ दशमलव ३५ बिन्दुमा पुगेसँगै ऐतिहासिक उचाइ कायम गरेको हो ।

कुल २२५ कम्पनीको ३ करोड १४ लाख ३१ हजार कित्ता शेयर १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार रुपियाँमा कारोबार भएको छ । यससँगैे नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा माथि रहेको छ ।

बुधबार आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखु खोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् । तर, एसबीएल डिवेञ्चर, एनआइबीएल प्रगति फन्ड, एनआईसी एसिया डिवेञ्चर, आरएसडीसी लघुवित्तलगायतका कम्पनीको शेयर मूल्य भने घटेको छ । यस दिन कारोबार भएका १३ समूहमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी नौ समूहको शेयर मूल्य बढेको छ ।

बढेको समूहमा होटल तथा पर्यटन समूह शून्य दशमलव ३५, लघुवित्त समूह १ दशमलव ५१, सामूहिक लगानी कोष शून्य दशमलव २१ र लगानी शून्य दशमलव २१ अंकले घटेको छ । यस्तै, बैंकिङ समूह १४ दशमलव ५, व्यापार समूह २ दशमलव ३८, विकास बैंक समूह २७२ दशमलव ४४, जलविद्युत् ५४ दशमलव ३९, वित्त १०३ दशमलव ५२, निर्जीवन बीमा २७६ दशमलव १९, अन्य समूह २४ दशमलव ९२ र जीवन बीमा समूह १११ दशमलव ९७ बिन्दुले बढेको छ ।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७८ करोड ८७ लाख तीन हजार रुपियाँको कारोबार भएको छ । यस्तै, अपि पावर कम्पनीको ६३ करोड ४६ लाख ७१ हजार, लुम्बिनी विकास बैंक ५९ करोड ७६ लाख ९३ हजार, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख १९ हजार र ज्योति विकास बैंकको ५६ करोड १५ लाख ४४ हजार रुपियाँबराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्