घटेको बजारमा कीर्तिमानी कारोबार



काठमाडौं, (नेस) ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कीर्तिमानी कारोबार भएको छ । २४ दशमलव ५७ अंकले घटेर ३१५४ दशमलव ३३ बिन्दुमा झरेको नेप्सेमा साढे २१ अर्ब रुपियाँको कारोबार हुँदै नयाँ कीर्तिमान कायम भएको हो ।

आइतबार कुल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख रुपियाँमा कारोबार भएको थियो । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ४४ खर्ब ६ अर्ब ७ करोड ९८ लाख ३१ हजार रुपियाँ पुगेको छ । कारोबार भएका १३ समूहमध्ये तीन समूहको परिसूचक बढे पनि बाँकी सबै समूहको परिसूचक भने ओरालो लागेको छ । यस दिन उत्पादन समूह, लघुवित्त र लगानी समूह बढेका छन् ।

समग्र परिसूचक ओरालो लागेको दिन खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ । यस्तै आईसीएफसी फाइनान्स ९ दशमलव ५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ८ दशमलव ९७ प्रतिशतले बढेको छ । तर, एनआईबीएल प्रगति फन्ड, रिडी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, रसुवागढी हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार रुपियाँको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख ४२ हजार, अपि पावर कम्पनीको ७० करोड २७ लाख १८ हजार, रिडी हाइड्रोपावरको ५९ करोड ४७ लाख ४५ हजार र अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ६० लाख ६७ हजार रुपियाँको कारोबार भएको छ ।a

प्रतिक्रिया दिनुहोस्