जर्मन महान् फुटबलर मुलरको निधन



एजेन्सी ।

जर्मनीका महान् फुटबलर गर्ड मुलरको आज निधन भएको छ । मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ । उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए । विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस् विरुद्ध निर्णायक गोल गरेका थिए ।

सन् १९७० को दशकमा जर्मनीको सफलतामा उनी निर्णायक खेलाडी थिए । फिफा विश्वकपमा उनको नाममा चौध गोल रहेका छन् । उनी यूरो ७२ मा सर्वाधिक गोलकर्ता थिए र फाइनलमा दुई गोल गर्दै जर्मनीलाई उपाधी दिलाएका थिए । फाईनलमा जर्मनीले सोभियत संघलाई ३–० ले पराजित गरेको थियो ।

आफ्नो जमाना जर्मनीका गोल मेसिन कहलिएका मुलरले बायर्न म्युनिखका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरेका थिए । त्यस्तै, बुन्डेसलिगामा कीर्तिमानी ३ सय ६५ गोल गरेका थिए । मुलरले राष्ट्रिय टिमका लागि ६२ खेलमा ६८ गोल गरेका थिए । फुटबल खेलाडी जीवनबाट सन्यास लिएपछि पनि उनी लामो समय बायर्नको युथ टिमको कोचको भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्