एक सातामा झण्डै ८० अर्बको शेयर कारोबार



काठमाडौं, (नेस) ।

जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको आकर्षण साता शेयर बजारले ऐतिहासिक बिन्दुमा प्रवेश गरेको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१७९ बिन्दुमा पुगेसँगै ऐतिहासिक बिन्दुमा प्रवेश गरेको हो ।

साताभर कुल २ सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार कित्ता शेयर ७९ अर्ब २६ करोड आठ लाख ४० हजार रुपियाँमा कारोबार भएको छ । यस आधारमा दैनिक १६ अर्ब रुपियाँको कारोबार भएको देखिन्छ । साताको पाँचवटै कारोबार दिन नेप्सेमा सुधार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार रुपियाँ पुगेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा अलि बढी हो ।

कुनै ठोस कारण नभए पनि पछिल्ला दिनमा लगानीकर्ता जलविद्युत् कम्पनीप्रति आकर्षित भएको देखिन्छ । जसका कारण वित्तीय अवस्था सामान्य रहेको जलविद्युत् कम्पनी एवम् निर्माणाधीन कम्पनीको समेत शेयर मूल्य उच्च भएको छ । साथै कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनीहरू नै अगाडि देखिएका छन् । नेपाल विद्युत प्राधिकणमा कुलमा घिसिङको पुनःनियुक्तिसँगै माथिल्लो तामाकोसीलगायत प्राधिकरणका सहायक कम्पनीहरूको शेयर मूल्य र कारोबार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्