नेप्से ऐतिहासिक बिन्दुमा, पुँजीकरण साढे ४४ खर्ब


काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६ दशमलव ४१ अंकले बढ्दै ऐतिहासिक बिन्दु अर्थात् ३१७९ बिन्दुमा पुगेको छ । कुल २२५ कम्पनीको ३ करोड ६६ लाख आठ हजार कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार रुपियाँ पुगेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा अलि बढी हो ।

बिहीबार कारोबार भएका १३ समूहमध्ये सात समूहको सूचक वृद्धि हुँदा छ समूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ, विकास बैंक, वित्त, उत्पादन, जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूह बढेका छन् भने व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, अन्य र लघुवित्त समूह घटेका छन् । कारोबार रकमका आधारमा यस दिन पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी अगाडि रहेको छ । सो कम्पनीको ६२ करोड ७९ लाख ९७ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख ४४ हजार, साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख पाँच हजार, एचआईडीसीएलको ४४ करोड पाँच हजार र गरिमा विकास बैंकको ४१ करोड ५८ लाख ४५ हजार रुपियाँको कारोबार भएको छ ।

त्यस्तै महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्र परिसूचक बढेको दिन पाँचथर पावर कम्पनी, आईसीएफसी फाइनान्स, ओरियन्टल होटल, सारथी नेपाल लघुवित्त र तारागँउ रिजेन्सी होटलको शेयर मूल्य भने घटेको छ ।