नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं, (नेस) ।

लगातार बढेको भए पनि साताको अन्तिम कारोबार दिन बिहीबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेर ३१०७ दशमलव ४५ बिन्दुमा झरेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार रुपियाँ पुगेको छ

कुल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार रुपियाँको कारोबार भएको छ। यस दिन १३ समूहमध्ये ११ समूहको परिसूचक घटेको छ भने दुई वटा समूहको मात्रै परिसूचक बढेको छ। ज्समध्ये विकास बैंक समूहको परिसूचक २ दशमलव २१ प्रतिशत र बैंकिङ समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ।

समग्र परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड मोदी र बरुण हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।अघिल्लो दिन जलविद्युत् कम्पनीप्रति लगानी आकर्षित हुँदा उच्च अंकले बढेको भए पनि बिहीबार जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव १६ प्रतिशतले घटेको छ। यस दिन शेयर मूल्य घटेका १३२ कम्पनीमध्ये अधिकांश जलविद्युत् कम्पनी रहेका छन् । तर, ५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा अपर तामाकोसी अग्रस्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६४ करोड ६५ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै अपि पावर कम्पनीको ५३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। अरुण भ्याली हाइड्रोपावर ४९ करोड १७ लाख ६० हजार, फस्ट माइक्रोफाइनान्स ३१ करोड ७३ लाख ६१ हजार र अरुण काबेली पावर २८ करोड ६७ लाख ३४ हजार रुपियाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्