हाइड्रोपावरप्रति लगानीकर्ताको आकर्षण



काठमाडौं, (नेस) ।

साताको चौथो दिन १२ दशमलव शून्य ५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१२३ दशमलव १४ बिन्दुमा पुग्दै ऐतिहासिक बिन्दुमा पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख रुपियाँ पुगेको छ ।यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हो ।

कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपियाँमा कारोबार भएको दिन १३ समूहमध्ये ७ वटा समूहको सूचक घटेका छन् । जसमध्ये बैंकिङ समूह ४ दशमलव २९, विकास बैंक समूह ६५ दशमलव ८५, जलविद्युत् समूह १९४ दशमलव शून्य ७, वित्त समूह ४५ दशमलव शून्य ५, उत्पादन समूह २७ दशमलव ८४ र लगानी समूह शूून्य दशमलव ३४ अंकले बढेको छ ।

यस्तै, व्यापार समूह ६०, होटल तथा पर्यटन ७ दशमलव ७७, निर्जीवन बीमा ८२ दशमलव ९८, अन्य २१ दशमलव शून्य १, लघुवित्त १२६ दशमलव ३३, जीवन बीमा समूह २ दशमलव ७५ र सामूहिक लगानी कोष समूह शून्य दशमलव १२ बिन्दुले घटेको छ । बुधबार लगानीकर्ताहरू जलविद्युत् कम्पनीको शेयरप्रति आकर्षित भएका छन् । जसका कारण अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावरसहित युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ । त्यस्तै ङादी ग्रुप अफ पावर, लक्ष्मी इक्विटी फन्ड, पोखरा फाइनान्स, विजय लघुवित्त, नेरुडे लघुवित्तका लगानीकर्ताहरू भने गुमाएका छन् ।

कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ७९ करोड ५० लाख १९ हजार रुपियाँको कारोबार भएको छ । साथै अरुण भ्याली हाइड्रोपावरको ५६ करोड ७२ लाख ३३ हजार, सानिमा माई हाइड्रोपावरको ५० करोड ३४ लाख ७१ हजार, अरुण काबेली पावरको ४१ करोड ५५ लाख ३५ हजार र छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपियाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्