हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा



ईश्वरराज ढकाल, काठमाडौं ।

बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्नुभएको छ ।

तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आउनुभएको छ । उहाँकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थाल्नुभएको हो ।

स्रोतका अनुसार उहाँकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहनुभएको छ । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थाल्नुभएको निर्मल निवास स्रोतले बताएको छ । आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबस्नुभएका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गर्नुभएको बताइएको छ ।

‘हिमानी सरकार कोरोना महामारीका कारण थाइल्याडमा अड्किनुभएकाले पारस सरकार निर्मल निवासमा बस्दै आउनुभएको छ । नेपाल फर्कनुभएपछि उहाँ परिवारसँग यति लामो समय सँगै बस्नुभएको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ –निर्मल निवासका एक कर्मचारीले बताए ।करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहनुभएकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किनुभएको छ । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उहाँ थाइल्यान्डमै अड्किनुभएको हो ।

थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किनुभएको हो । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने गर्नुभएका पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्नुहुन्छ । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन ।

करिब एक साताअघि नारायणगोपाल चोकमा हेल्मेटबिना नै मोटरसाइकल चलाएको अवस्थामा ट्राफिक प्रहरीले रोकेपछि उहाँले ट्राफिक प्रहरीलाई मनपरी गाली गर्नुभएको थियो । सो घटनामा पारसको गाली खाएका ट्राफिक प्रहरीले निरीह भई उहाँलाई त्यतिकै छाडेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्