गाह्रो गरी नेप्से उकालो चढ्यो



काठमाडौं, (नेस) ।

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव शून्य ६ बिन्दुले वृद्धि भई ३०८५ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । कुल २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार कारोबार भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार रुपियाँ पुगेको छ ।

यस दिन कारोबार भएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको घटेको छ । जसमध्ये लघुवित्त समूह २ दशमलव २२ प्रतिशत, लगानी उपसमूह १ दशमलव ७ प्रतिशत, उत्पादन समूह शून्य दशमलव ६३ प्रतिशत, वित्त समूह शून्य दशमलव ३४ प्रतिशत र बैंकिङ समूह शून्य दशमलव शून्य ९ प्रतिशत बढेको छ । तर, व्यापार, होटल तथा पर्यटन र विकास बैंक समूहको परिसूचक घटेका छन् । कारोबार रकमका आधारमा अरुण काबेली पावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपियाँको कारोबार भएको छ । त्यस्तै युनिभर्सल पावरको ३५ करोड ४८ लाख ५२ हजार, फस्ट माइक्राफाइनान्सको ३४ करोड ३ लाख ५४ हजार, नागरिक लगानी कोषको ३२ करोड १९ लाख ७९ हजार र रिडी हाइड्रोपावरको २८ करोड ८६ लाख ९२ हजार रुपियाँको कारोबार भएको छ ।

सोमबार घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ । साथै गुराँस लघुवित्त ९दशमलव ९८, फस्ट माइक्रोफाइनान्स ९दशमलव शून्य ९, युनिभर्सल पावर ९ र आँखु खोला जलविद्युत् कम्पनीको शेयर मूल्य ८ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । तर, नेपाल हाइड्रो डेभलपर, युनाइटेड इदी मर्दी हाइड्रोपावर, लक्ष्मी इक्विटी फन्ड, हिमालयन पावर पार्टनर र बरुण हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्