अभिभावक गुमाउँदा सुरक्षाको चिन्ता



सीताराम अधिकारी, धादिङ ।

एउटा सिमेन्टले बनाएको दुई तलाको घर छ, झट्ट हेर्दा मध्यम परिवारको जस्तो देखिने घरमा छन् चार जना बालबालिका । खानका लागि एक पाथी चामलबाहेक अन्य सामान नभएको घरमा अभावले घेरिएको अवस्थामा रहेका चार जनामध्ये दुई बालिका र दुई बालक छन् ।

नीलकण्ठ नगरपालिका–४ सिम्लेगैरीका चार बालबालिकाले आमाबाबु गुमाएपछि समस्या परेका हुन् । १६ वर्षीय गोविन्द उपरकोटी, १४ वर्षीय रामकृष्ण, ७ वर्षीया सरस्वती र ६ वर्षीया सरिता एक महिनाअघि आमाको मृत्युपछि अभिभावकविहीन भएका छन् ।

स्मार्ट सिटी र नगरपालिकाहरुमध्ये पहिलो भनेर चर्चा गर्ने गरिएको नीलकण्ठ नगरपालिका कार्यालयबाट १० मिनेटको दुरीमा रहेका चार बालबालिका कठिन परिस्थितिको सामना गर्दै बाँचिरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर उनीहरु यो वास्तविकतासँग संघर्ष गरिरहेका छन् । नीलकण्ठ नगरपालिकाले दुःख पाएका गरिबहरुलाई किरियाखर्च घर–घरमा गएर वितरण गर्दै हिँडेको थियो तर नगरपालिकाले पहुँच नभएका कारण यो परिवारबारे जानकारी नै राखेन । उनीहरुको बुबाले ५ वर्ष पहिले धेरै ऋण लागेपछि आत्महत्या गरे । बाबुको मृत्युपछि आमाले ज्याला मजदुरी गरेर उनीहरुलाई पालिरहेकी थिइन् ।

बालबालिकाका आमालाई ३ महिनाअघि जन्डिसले समात्यो । उपचार गर्न लगियो । जिल्लामा उपचार गराउँदा ५६ हजार ऋण लाग्यो । तर, आमाको उपचार नभई ०७८ असार ७ गते मृत्यु भएपछि आफूहरु सहाराविहीन भएको १० कक्षामा पढ्दै गरेका १६ वर्षीय गोविन्द उपरकोटीले बताउनुभयो । बजारमा लिइएको ऋण तिर्न अझै समस्या छ ।

आफ्ना तीन भाइबहिनीको एक्लो अभिभावक र संरक्षक भएका गोविन्दले अब आफूहरुलाई सहाराको आवश्यकता रहेको बताउनुभयो । गोविन्दका भाइले पढाइ छाडेर बजारमा ज्याला गर्छन् । हार्डवेयर पसलहरुमा भारी बोकेर जेनतेन पालिएको भए पनि भाइले कमाउन नसकेको दिन भोकै बस्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । गोविन्दका ६ वर्षीया कान्छी बहिनी सरिता र ७ वर्षीया बहिनी सरस्वती पढ्न चाहन्छन् तर आफूहरुसँग पढाउने वातावरण बनाउन समेत कठिन रहेको उनीहरु बताउँछन् ।

खानेकुरा सकिएको छ, सुत्ने ठाउँमा एउटा म्याट ओछ्याइएको छ भने लगाउने एकसरो लुगामात्र रहेको अवस्थामा अत्यावश्यक आवश्यकताका सामग्रीहरु सहयोग गर्दै आउनुभएका छिमेकी नवराज मजाकोटीले उनीहरुको भविष्यका लागि शिक्षादीक्षाका लागि दाता आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्