सामाजिक संजालमा महेश बस्नेत र खगेन्द्र संगौलाको घम्साघम्सी

1k
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नागरिक अगुवा खगेन्द्र संग्रौलालाई धम्की नदिएको बताउनुभएको छ ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको बताउनुभएको छ । ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् ।

गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन्। बस्नेतले लेख्नुभएको छ ‘ म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ। धम्काउने थर्काउने मेरो शैली होइन।’ बस्नेतले संग्रौलालाई धम्की दिन आवश्यक नरहेको पनि बताउनुभएको छ ।‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमाण्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छु । न माधव नेपाल कमरेडलाई थर्काएको छु । न त्यसो गर्न आवस्यक नै छ।’

बस्नेतले लेख्नुभएको छ , ‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ। सहज ढंगले आफ्नो लक्षमा हिँड्नेछ । वाधा अडचन आइपरे मात्र हटाउनेछ ।’ एमालेको पंक्ति र जनतासंग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक नभएको उहाँको तर्क छ ।

संग्रौलाले महेश बस्नेतले साइबर सेना लगाएर आफूलाई तह लगाउने प्रत्यक्ष धम्की दिएको उल्लेख गर्नुभएको थियो । संग्रौलाले ट्वीटरमा लेख्नुभएको छ, ‘तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर!’

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’ संग्रौलाले एमालेका युवा नेता बस्नेतले आफ्नो ट्विटर मार्फत आफूलाई धम्की आएको सार्वजनिक गर्नुभएको हो ।एमाले अध्यक्ष केपी ओली सर्वोच्चको गत असार २८ को आदेशपछि पदच्यूत हुनुभएपछि भोलिपल्ट एमाले पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा गरेको थियो ।

संग्रौलाले भन्नुभएको छ ’संसारका सबै पश्चगामी विवेकसँग डराउँछन्। स्वतन्त्रताको पक्षमा हक्की भएर बोल्नेहरुलाई सधैं सबैतिर यस्ता धम्की आउने इतिहास छ। महेश बस्नेतबाट आएको धम्कीले नेपाली समाजको दक्षिणपन्थी अपराधीकरण, दक्षिणपन्थी असहिष्णुता र प्रतिशोध टुंगिएको छैन, अझै यसको इतिहास लामो छ भन्ने देखाउँछ ।’

अस्तिसम्म केपी ओली र उनका पक्षधरलाई सिंगो समाजको सत्य हामीले बोलेका छौं, सिंगो समाजको कल्याणको प्रतिनिधित्व हामीले गरेका छौं र हाम्रो आयु अनन्त छ भन्ने लागेको थियो उहाँ भन्नुहुन्छ, तर सर्वोच्च अदालतको पछिल्लो आदेशले त्यो भत्काइदियो ।
आफूले कल्पनै नगरेको निर्णयपछि एमालेमा एक किसिमको विक्षिप्तता उत्पन्न भएको छ। महेश बस्नेतको तह लगाउने धम्की त्यही विक्षिप्त मनोदशाबाट आएको बर्बराहट हो।’उहाँको भनाई छ ।