लथालिङ्ग सुदूरपश्चिम प्रहरी कार्यालय

सचिवालय विघटन, तोकिएन प्रवक्ता

252
Shares

हेमन्त पौडेल, धनगढी । 

करिव एक महिना अघि सरुवा भई सुदूरपश्चिम प्रहरीको कमाण्ड सम्हाल्न आईपुग्नुभएका प्रहरी नायव माहानिरिक्षक डिआईजी पुरुषोत्तम कँडेलका कारण सुदूरपश्चिम प्रहरी कार्यालय लथालिङ्ग र अस्तब्यस्त अवस्थामा पुगेको छ । यस अघिका डिआईजी उत्तम सुवेदीले बनाएको सचिवालय विघटन गरेर नयाँ नबनाउँदा कार्यालय अस्तब्यस्त बन्न पुगेको हो ।

सुदूरपश्चिम प्रहरीमा प्रवक्ता समेत औपचारिकरुपमा नतोक्दा सुचना संकलनमा समेत कठिनाई हुने गरेको छ । डिआईजी कँडेलले आफूले पनि सूचना नदिने र सूचना दिने अधिकारी नतोक्दा समाचार संकलनमा समस्या भएको पत्रकार सुशिल ढुंगानाले बताउनुभयो । आईतवार मात्र निर्मला पन्तको बारेमा के भइरहेको छ भन्ने बारेमा जानकारी लिन खोज्दा डिआईजी कँडेलले मैले सूचना दिने होईन पक्ता संग कुरा गर्नुस भन्दै प्रहरी नियमावली पढेर आफूसंग कुरा गर्न धम्कीको भाषा प्रयोग गर्दै फोन राख्नुभएको पत्रकार ढुंगानाले बताउनुभयो ।

आसार १६ गते डिआईजी कँडेलले कामाण्ड समालेपछि प्रवक्ता समेत नतोक्नु, सचिवालय नबाउनु र डिआईजी आफै प्रहरी यूनिटमा पुगेर कुरा गर्नुले उहाँको काम गर्ने शैलीमा प्रश्न उठेको छ । सचिवालय नराखी आफै कुरा गर्नुले उहाँ शंकाको घेरामा हुनुहुन्छ । समाचार स्रोतका अनुसार डिआइजी कँडेल यूनिट यूनिटमा पुगेर सेटिंग मिलाई रहनुभएको छ । सुदूरपश्चिम आउनुभन्दा पहिला प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन माहाशाखाको प्रमुखको जिम्मेवारी समाल्नु भएका कँडेलको कार्यशैली प्रति संगठन भित्रनै असन्तुष्टि बढेको छ । आफ्नो पदीय मर्यादालाई ख्याल नगरी यूनिट यूनिटको भ्रमण गर्नु नै रहस्यमय देखिन्छ । कैलाली जिल्ला सीमा क्षेत्रसंग जोडिएकोले विभिन्न नाकाबाट चोरी तस्करी ब्यापक हुने गरेको छ ।

यस अघिका सुदूरपश्चिम प्रहरी प्रमुखहरुले आफ्नो प्राथमिकतामा रहेका कुराहरु पत्रकारहरुलाई बोलाएर जानकारी गराउने गरेका थिए । तर कँडेल आएको दुई साता भन्दा बढी हुँदा समेत कुनै समन्वय नै छैन । आफू अहिले ब्रिफिंग लिईरहेकाले कसैलाई भेट्ने समय नभएको बताउँदै आउनुभएको छ । कँडेलको कार्यशैलीप्रति कोही सन्तुष्ट देखिएका छैनन् । सूचना पनि नदिने र प्रवक्ता पनि नतोक्दा उहाँको कार्यशैली कस्तो छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । करिब एक महिनायता सुदूरपश्चिमप्रदेश प्रहरी कार्यालयको व्यवस्थापनमा देखिएको कम्जोरीले कार्यालयमा हुनुपर्ने घटनाक्रम तथा सूचनाहरु अभिलेखिकरणमा समस्या देखिको छ । पहिलाको सचिवालय खारेज गरेपछि नयाँ जिम्मेवारी समेत तोक्नुभएको छैन ।

सात पहाडी र दुई तराईका गरेर नौ जिल्ला रहेको यस प्रदेशका विभिन्न स्थानमा हुने सबै प्रकारका घटनाको विस्तृत जानकारी प्रदेश प्रहरी प्रमुखलाई अनिवार्य हुनु पर्ने हुन्छ तर सचिवालयनै नहँुदा उक्त काम प्रभावित भएको छ । प्रदेश प्रहरी प्रमुखले एक्लैले त्यो सबै जानकारी दिन र अभिलेख राख्न सम्भव छैन जसको सहजताको लागि विगतमा आउने प्रदेश प्रहरी प्रमुखले सचिवाल गठन गरेर त्यस मार्फत सबै काम गर्दै आउनुभएको थियो । तर डिआइजी कँडेल आउनुभएको करिब एक महिना हुन लाग्यो न सचिवालय छ न प्रवक्ता नै यसले गर्दा समस्या देखिँदै छ । सुदूरपश्चिमको उहाँ कमाण्डर हो यूनिट प्रमुखलाई प्रदेश प्रहरी कार्यालयमा बोलाएर निर्देशन दिनुको साटो डिआईजी आफै यूनिट प्रमुखलाई भेट्न जानुले पनि उहाँमाथि शंका उत्पन्न हुने गरेको छ । तर यस विषयमा बास्तविकता बुझ्न खोज्दा डिआईजी कँडेलले मोवाईल उठाउनु भएको छैन भने पठाएको म्यासेजको समेत जवाफ दिनुभएको छैन ।

उता सुप प्रहरीमा प्रवक्ता नतोकिएको र कार्यालय समेत अस्तब्यस्त भएको विषयमा जानकारी गराउँदा प्रहरी माहानिरिक्षक शैलेश थापा क्षेत्रीले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । प्रवक्ता नतोकिनु र कार्यालय अस्तब्यस्त हुनुको कारण बारेपनि आफूले डिआई जी कँडेलसंग जानकारी लिने माहानिरिक्षक थापा क्षेत्रीले जानकारी दिनुभयो ।