झलनाथको उपचारखर्च रोक्न आग्रह

1.2k
Shares

काठमाडौं, (नेस) ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी छ भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्री कार्यालयमा आरआईटी र ज्ञापनपत्र दर्ता गराएको छ ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरिश भट्ट र वागमती प्रदेश सञ्चार विभाग प्रमुख रञ्जन कार्कीले आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएकोले त्यसलाई रोक्न आग्रह गरिएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन ।

पार्टीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ– ‘नेता खनाललाई नेपालको पूर्वप्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताका रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिकस्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तयार छौं, तर उहाँका लागि भनेर सरकारले गैरकानुनीरूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौं ।’

ज्ञापनपत्रमा यस कार्यले नेता खनालको मान मर्दन गर्ने र यो कार्यले खनालको त्याग र समर्पणमै प्रश्न उठ्ने हुँदा सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गरिएको छ । साथै, गैरकानुनी काम नरोकिए कानुनअनुसार अगाडि बढ्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।