चरम वादसँगै एमालेभित्र आपसी काउण्टर दिन फोर्स गठनको अस्वस्थ होडबाजी

616
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

पछिल्लो समय एमालेभित्रको चरमबिवादसँगै युवा फोर्स गठनको होडबाजी चलेको छ । एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युताएका छन् ।यसै क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र यसको ईन्चार्ज संजीब राई रहेका छन् ।कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिनुभयो । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरिएको थियो ।तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि नेपाल समूहले पीभी ब्युताएको हो ।युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा युवाको बृहत भेलामार्फत पिपुल्स भोलेन्टियरको घोषणा गरेको संघका नेता दीपक थापाले बताउनुभयो । मंगलबार मात्रै पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको पहलमा‘आइटी आर्मी’ गठन गरेका थिए ।भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको ‘आइटी आर्मी’को संयोजकमा चन्द्रभुषण शाह रहेका छन् । ‘आइटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यसले समाजको बिकृति,बिसंगतीबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलले ‘आइटी आर्मी’ले सूचना प्रविधिमार्फत उत्पीडित जनताको पक्षमा काम गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।आइटी आर्मी’सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन रहने संयोजक शाहले बताउनुभयो ।

आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ भने प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने बताईएको छ ।आइटी आर्मी’ पनि एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमै सक्रिय संगठन रहने संयोजक शाहले बताउनुभयो । त्यसो त‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र यसको घोषणाको कारण खोज्न थालिएको चर्चा छ ।

एमाले अध्यक्ष ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ ।गत बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो ।

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ’ पराजुलीको भनाई छ । उहँका अनुसार अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिनेछ ।

ओली पक्षको युवा संघले क्षितिज थेबेको नेतृत्वमा यस अघि नै युथ फोर्सको पुनर्गठन गरिसकेको छ ।युवा संघका इन्चार्ज महेश बस्नेतले युथ फोर्स ब्युँताएको जानकारी दिंदै फोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ चयन भएको बताउनुभयो ।फोर्सले अदालतको आदेशपछि बर्हिगमनमा परेका निबर्तमान प्रधानमन्त्री ओलीको कार्गेटलाई बालुवाटारबाटै मोटरसाइकल र गाडीले स्कर्टिङ गरेर र हर्न बजाएर तथा नाराबाजी गर्दै बालकोट ल्याएका थिए ।

सर्वोच्च अदालतको फैसलाले राजनीतिलाई गलत दिशातर्फ लगेका वेलामा फोर्स ब्युँताएको बस्नेतको भनाइ छ। युथ फोर्सको ५०१ सदस्यीय केन्द्रीय कमाण्ड गठन गरिएको छ।२०६५ सालमा महेश बस्नेतको नेतृत्वमा माओबादी निकट योङ कम्युनिष्ट लिगको बिरुद्धमा युथ फोर्स गठन गरिएको थियो।

ओली समूहका राष्ट्रिय युवा संघले ओली प्रधानमन्त्री रहँदै साइबर सेना बनाएको थियो । साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’, अध्यक्ष बचनबहादुर सिंहले बताउनुहुन्छ।

आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित भएको सिंहको भनाई छ ।‘यसले हतियार बोक्दैन तर बुद्धिको प्रयोग गर्छ । यसबाट आत्तिनेहरुले साइबर स्याल भनिरहेका छन् तर, हामी विवेकपूर्ण ढंगले परिचालित हुदैछौं’, सिंह भन्नुहुन्छ ।

राजनीतिमा पक्ष र विपक्ष हुन्छन् । एउटै दलभित्र पनि फरक मत हुन्छन् । तर एमालेमा चलिरहेको अन्तरसंघर्षमा ओली समूह निकट युवा संघको प्रदर्शनले लय छाडेको देखिन्छ ।यसले एमालेमा घृणाको राजनीति जबरजस्त बढ्दै गएको देखाउँछ ।फोर्स गठन प्रतिस्पर्धाको बिषय त होला तर युवालाई बिद्रोहका बन्दुक बोकाउने भन्दा सिर्जनाका संवाहक बनाउनुपर्नेमा सरोकारवालको जोड छ ।त्यसो त बिगतमा कांगे्रसले पनि तरुण दस्ता बनाएको थियो ।