हेटौंडामा पुष्पलालको शालिक अनावरण

322
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा हेटौंडा–५ को पुष्पलाल पार्कमा स्थापना गरिएको श्रेष्ठको शालिक अनावरण गरिएको छ । पार्कमा स्थापित श्रेष्ठको शालिकको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनावरण गर्नुभएको हो ।

सालिक अनावरणपश्चात् नेकपा एमाले मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले पुष्पलालका सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गर्नुभयो । पुष्पलालको दर्शन र सिद्धान्तमा नेकपा एमाले हालको स्थानमा आइपुगेकाले पछिल्ला घटनाक्रम देख्दा आफूलाई दुःख लागेको पौडेलले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले विभाजित मानसिकताबाट नभएर कम्युनिष्ट आन्दोलनको मूलप्रवाहीकरणमा अन्य मित्रशक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान हुने धारणा राख्नुभयो । ‘पुष्पलालले प्रस्तुत गर्नुभएको विचारकै जगमा पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापना भएको थियो । २००६ मा उहाँको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न आरोह/अवरोहको सामना गर्दै अघि बढेको छ,’ उहाँले भन्नुभयो–राजनीतिक अधिकारप्राप्तिको आन्दोलनले सफलता पाएस“गै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो ।

मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेक शृंखला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तीतामीठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दामात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गनुृभयो । पौडेलले व्यक्तिगत् कुण्ठा, द्वेष र अतृप्त आकांक्षा परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिष्ट आन्दोलनलाई वर्गशत्रुका अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिबारे जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गर्दै समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सरेश नेपालले वर्तमान अवस्थामा सबैतिरबाट कम्युनिष्टलाई सिध्याउने खेल भइरहेकाले सजग भएर काम गर्नुपर्ने बताउनुभयो । सामन्तवादविरुद्धमा पुष्पलालले आन्दोलन सुरुवात गरेकाले त्यसलाई निष्कर्षमा पु-याउनुपर्ने दायित्व सबै कम्युनिष्ट विचारधारका नेता/कार्यकर्ताको भएको उहाँले बताउनुभयो ।

नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल र नेकपा माओवादी मकवानपुरका नेता कमानसिं पाख्रिनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१५ असार, १९८१ मा रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठको ७ साउन, २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ १० बैशाख, २००६ मा नेकपा स्थापना गर्नुभएको थियो ।