प्रधानमन्त्रीलाई कांग्रेसको अनुरोध : कोरोनाविरुद्ध खोपदेखि रासायनिक मलसम्म

252
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोधपत्र बुझाएर प्रदेशका समस्या समाधानका लागि आग्रह गरेको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत लिन सफल भएकोमा बधाई एवम् शुभकामना ज्ञापन गर्न बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले सोही मौकामा देश एवम् बागमती प्रदेशका समस्या समाधानका लागि अनुरोधपत्र बुझाएको हो ।

संसदीय दलका नेता इन्द्रबहादुर बानिया“ले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई अनुरोधपत्र हस्तान्तरण गर्नुभएको थियो । पत्रमा कोरोना संक्रमणका कारण देश आक्रान्त रहेकाले देशका सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने व्यवस्थाका लागि अनुरोध गर्दै यसको बढी जोखिममा प्रदेश रहेकाले कोरोनाको खोपबाट बञ्चित र पहिलो डोज लगाएकालाई यथाशीघ्र खोप व्यवस्था गर्न अनुरोध गरिएको छ ।

कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र खाद्यान्नको अभाव झेलिरहेका विपन्नवर्ग भोकसँग लडिरहेकाले जनतालाई स्थानीय सरकारको वडा तहबाट खाद्यान्न उपलव्ध गराउन संघीय सरकारको पुरक बजेटमार्फत् रकम उपलव्ध गराउन कांग्रेसले अनुरोध गरेको छ ।

देश एवम् बागमती प्रदेशका सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत जिल्लामा पछिल्लो समय गएका प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएको उल्लेख गर्दै विपद्का कारण घरबारविहीन भएकालाई तत्काल घरबार र उचित राहतको व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

संसदीय दलको अनुरोधपत्रमा पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भएका लकडाउन एवम् निषेधाज्ञाका कारण साना, मझौला एवम् ठूला व्यवसाय, उद्योग, कलकारखाना, कृषिक्षेत्र धरासयी भएकाले राष्ट्र बैंकले साउन १५ गते ल्याउने मौद्रिक नीतिमार्फत् कोरोनाका कारण मारमा परेका उद्योग, व्यवसायको ऋण भुक्तानीलाई पुर्नतालिकीकरण, कोरोना अवधिको ब्याजलाई न्यूनदरमा भुक्तानी व्यवस्था, निक्षेपको ब्याज र ऋणको ब्याजबीचको स्प्रेडदर घटाउने र ब्याजको सीमा निर्धारण जस्ता उपाय अवलम्बन, विशेष राहत प्याकेज व्यवस्था गरी आर्थिक क्षेत्रलाई प्रोत्साहन गर्दै पार्टीप्रतिको निजी क्षेत्रको विश्वास बढाउन विशेष ध्यान दिन अनुरोध गरिएको छ ।

दुई तिहाइ मत दि“दासमेत कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जनताको अपेक्षा पूरा गर्न नसकेको र कृषिप्रधान देशका कृषकले रासायनिक मल, बिउविजन, सिंचार्इंको समस्या झेलिरहनु परेको अवस्थामा कांग्रेस नेतृत्वको सरकारबाट यी क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा जनतामा रहेको भन्दै यसतर्फ ध्यान दिन पत्रमार्फत् अनुरोध गरिएको छ ।

संसदीय दलका नेता बानियाँले देउवास“गको भेटमा विगतदेखि हालसम्म जनताका हरेक दुःखसुखमा निरन्तर उभिएको र जनताको पक्षमा सडकदेखि सरकारसम्म नेतृत्व गर्नुभएका सभापति देउवा नेतृत्वको सरकारले सबै वर्ग र तहका नागरिकको मन छुने काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देउवा नेतृत्वको सरकार सम्पूर्ण जातजाति, भाषा, धर्म, लिंग, समुदाय, उत्पीडित वर्गको हो भन्ने प्रत्याभूत गराउनेढंगले काम अघि बढाउनेमा विश्वास व्यक्त गर्दै कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगै देश एवम् प्रदेशका जनतामा आशा/भरोसा बढेको बताउनुभयो । प्रधानमन्त्री देउवाले जनताका कोरोनाविरुद्ध खोपदेखि सबै अपेक्षा पूरा गर्न आफू नेतृत्वको सरकार ठोस रणनीतिसाथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सिन्धुपाल्चोकको पीडाबारे सांसद्को अनुरोधपत्र

प्रदेश सांसद् निमा लामाले प्रधानमन्त्री देउवासमक्ष ५ बुँदे अनुरोधपत्र लेख्नुभएको छ । असार १ गतेको पहिरोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेको नदीको तटीय क्षेत्रमा पहिरो र बाढीले व्यापक क्षति गरेको अवगत गराउँदै सिन्धुपाल्चोकलाई मन्त्रिपरिषद् बैठकबाट विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ ।

अघिल्ला प्रधानमन्त्री केपी शर्माओलीले उक्त क्षेत्रको पीडामा सरोकार नराखेको गुनासो पोख्दै सांसद् लामाले उक्त क्षेत्रबारे प्रदेशसभा बैठकमा आवाज उठाउनुभएको थियो । असार २६ गते मेलम्ची र हेलम्बु क्षेत्र तत्कालीन प्रम ओली पुग्नुभएको थियो । तर, स्थानीयलाई प्रत्यक्ष सरकारी राहत घोषणा गरिएन ।

‘तीनै स्थानीय तहका सरकार कांग्रेस र माधव नेपाल पक्षका रहेकाले ओली सरकारले ध्यान नदिएको सर्वविदित छ । प्रदेशसभाको सांसद् नेपाली कांग्रेसकै रहेकाले प्रदेश सरकारको पनि गएन,’ उहाँको आरोप छ ।

बाढीपहिरो पीडितका लागि राहत बितरणका क्रममा हुने भिड र बाढीपहिरोका कारण कतिपयको स्थायी आवास नभएकाले एकै स्थानमा बस्नुपर्ने बाध्यताले उक्त क्षेत्रमा कोभिड संक्रमण तीव्रगतिमा फैलने त्रास उत्तिकै छ । त्यसैले कोभिडविरुद्ध खोपलाई उच्च प्राथमिकतामा राख्न लामाले अनुरोध गर्नुभएको छ ।