बाढीले चँदाहा खोलामा निर्माणाधीन अवस्थामा रहेको झोलुंगे पुल भत्कियो

336
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सोमवार(गएको राती) परेको बर्षा पछि आएको बाढीले तिनपाटनको चँदाहा खोलामा निर्माणाधिन अवस्थामा रहेको झोलुंगे पुल भत्काएको छ ।

बाढीले तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण पुरा नहुदै भत्काएको हो । चँदाहा नदीमा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा निर्माणाधिन पुलको पिलर भत्किएको उपभोक्ता समितिका सचिव डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । ‘बाढीले जमिन कटान गरी वडा नं. २ हिलेपानी तर्पmको पुलको पिलर भत्काएको छ । पुलका लठ्ठा लत्रिएर खोलामा पुरिएका छन् ।’ उहाँले भन्नुभयो ।

भत्किएको पुलका सबै सामानहरु खोलामा पुरिएकाले तत्काल नझिके थप क्षति हुने उनले बताए । नदीले धार परिवर्तन गरि मधुगंगामा भुमरी पर्दा खोलाले पुलको पिलर खोलेर ढालेको तिनपाटन गाउँपालिका वडा नं. १ का अध्यक्ष गोविन्द राउतले बताउनुभयो । यदी उक्त पुल नभत्किएको भए वडा नं. १ का बासिन्दालाई गाउँपालिका जान छोटो र सहज बाटो हुने थियो । निर्माण पुरा नहुदै भत्कियो । अब निर्माण सम्पन्न हुन समय लाग्ने भयो’ उहाँले भन्नुभयो । उपभोक्ता समिति मार्फत निर्माण भईरहेको ११९ मिटर लामो उक्त फलामे पुल डोलिडारको ८८ लाख १७ हजार ८ सय ९१ रुपैंया लागत र स्वीस रेडक्रसको प्राविधिक सहयोगमा निर्माण भईरहेको थियो ।

पुल निर्माणमा प्राविधिक त्रुटि नरहेको रेडक्रसका जुनियर इन्जिनियर चित्र लुंगेलीको भनाई छ । उक्त पुल २०७८ असार मसान्तमा निर्माणको काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । ।