रिक्त स्वास्थ्य सेवातर्फको सचिवका लागि तीन जनाको नाम सिफारिस

672
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत तीन जना प्रमुख विशेषज्ञहरुको नाम स्वासथ्य सेवातर्फ रिक्त रहेको सचिव पदका लागि सिफारिस गरेको छ ।

स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई पहिलो नम्बरमा सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यसैगरी, दोस्रो र तेस्रो नम्बरमा क्रमश डा. दीपेन्द्ररमण सिंह स्वास्थ्य सेवा विभागका महानिर्देशक र महेन्द्रप्रसाद श्रेष्ठको सिफारिस गरिएको छ ।

तीनै जना स्वास्थ्य क्षेत्रका अनुभवि र नियमनासार योग्यता पुगेका बरिष्ठ व्यक्तिहरु भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । सिफारिस गरिएका तीन जना मध्येबाट आउँदो हप्ता सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले एक जनाको नाम स्वीकृत गर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

सचिवको नामावली छनोट कमिटिमा पूर्व स्वास्थ्य सचिव डाक्टर किरण रेग्मीलाई विज्ञको रुपमा मनोनय गरिएको छ । यस अघि निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले स्वास्थ्य तर्फको सचिवलाई पेन्डुलम बनाउँदै प्रशासनिकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिँदा ३ बर्षमा ७ जना सचिव परिवर्तन हुँदा पनि स्वास्थ्य मन्त्रालयको काम कारवाही चुस्त, दुरुस्त हुन नसक्नुका साथै कोरोना भाईरस बिरुद्धको मेडिकल उपकरण खरिदमा ठूलो परिणाममा घोटाला गरेको आरोप सहितको मुद्धा सर्वोच्च अदालत सम्म पुग्यो ।

स्वास्थ्य तर्फका तत्कालीन सचिव डा.पुष्पा चौधरीलाई तत्कालीन प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा तर्फका सचिवलाई प्रधानमन्त्री कार्यालयमा जगेडामा राख्ने निर्णय गरेसँगै डा. चौधरीले सर्वोच्च अदालत पुगी स्टेअर्डर लिएर पुनः स्वास्थ्य मन्त्रालयमै हाजिर भए पनि उहाँलाई कामै गर्न नदिएपछि राजिनामा दिनुभएको थियो । उहाँको राजिनामा स्वीकृत गरि ओली सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य तर्फको सचिव पद रिक्त राख्दै आएको थियो । एक साता अघि आफैले खाली गरेको स्वास्थ्य सेवा तर्फको सचिव नै स्वास्थ्य मन्त्रालयमा आवश्यक रहेको महसुस गरि ओली सरकारकै नेतृत्वमा बसेको मन्त्री परिषद् बैठकले स्वास्थ्य तर्फको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । सोही अनुरुप सचिव छनोट कमिटिले तीन जनाको नाम सिफारिस गरेको हो ।