एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुर पक्षका नेताबीच भेटवार्ता

504
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा आज भएको दुई पक्षबीचको भेटवार्तामा कसरी सहकार्य जारी राख्ने तथा केही दिनमै थप राजनीतिक छलफलमा बस्ने बारे कुरा भएको जसपा नेता शरद सिंह भण्डारीले बताउनुभयो ।

भेटवार्तामा आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । अध्यक्ष ओलीलाई भेट्न जसपा अध्यक्ष ठाकुर नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुग्नुभएको हो । सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक जसपा अध्यक्ष ठाकुर समूहले ओलीसँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्रीमा ओली रहँदा उहाँलाई साथ दिँदै जेठमा जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा समेत सहभागी भएको थियो । करिब २ घण्टा भएको छलफलमा बदलिएको परिस्थिति अनुसारको भावी रणनीति तय गर्ने सम्वन्धमा नेताहरुविच दुई पक्षीय सहमति भएको बताइएको छ ।

ओली सरकारबाट बाहिरिएपछि जसपा नेताहरूसँग पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादब पक्षले भने साथ दिंदै आएको छ भने जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधिन छ ।