ललितपुर महानगरको पाँच अर्ब ५५ करोड ५५लाखको बजेट पारित

154
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाको छैठौं नगरसभाले आर्थिक वर्ष २०७८/२०७९को लागि पाँच अर्ब ५५ करोड,५५लाखको बजेट पारित गरेको छ । चालु खर्च अन्तर्गत ९१ करोड ६१ लाख ५७ हजार , पुँजीगत खर्च तर्फ तीन अर्ब २४ करोड ३० लाख छुट्याइएको छ ।

आर्थिक वर्ष २०७८∕२०७९ का लागि ललितपुर महानगरपालिकाले वडाभित्र रहेका वडाहरुलाई तीन वर्गमा विभाजन गरी बजेट विनियोजन गरेको छ । जस अन्तर्गत वडा नं १, ६ , ७ , ८, १० , ११ , १९ लाई जनही दुई करोड १५ लाख छुट्याएको छ ।

वडा नं २, ३, ४ , ५, ९,१३, १४, १५, १७ लाई जनही दुई करोड पचास लाख विनियोजन गरेको छ । महानगरका अन्य वडाहरु १२, १६,१८,२०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ लाई वडै पिच्छे तीन करोड २५ लाख छुट्याएको छ । ललितपुर महानगरपालिकामा २९ वडा वडाहरु छन् । महानगरप्रमुख चिरीबाबु महर्जनले महानगर हुनेक्रममा गाँभिएका वडामा गर्नुपर्ने काम धेरै भएकाले बजेट धेरै छुट्याएको बताए ।

महानगरले महानगरीय योजना अन्तर्गत महानगरको वडा नं ११ स्थित विद्युतीय शवदाहगृह निर्माण गर्न एक करोड विनियोजन गरेको छ । गएको आर्थिक वर्षमा नै महानगरले शंखमुलमा जग्गा अघिग्रहण गरी खरिद गरिसकेको छ । शवदाह गर्ने यन्त्र सहयोग स्वरुप प्राप्त हुने महानगरले जनाएको छ ।

सप्तपातल पोखरी, राजदलगण परिसरमा रहेको दुईवटा पोखरी निर्माणका लागि महानगलरे ५ करोड छुट्याएको छ । ललितपुर महानगरको वडा नं २४ मा निर्माण गर्ने भनिएको आयुर्वेदिक अस्पतालको निर्माण सुरु गर्ने भएको छ ।

वडा नं २१स्थित रुद्रायणी मन्दिर पुनर्निर्माण, वडा नं २७स्थित कृष्णमन्दिर निर्माण, वडा नं १३स्थित पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माणको काम आर्थिक वर्ष २०७८÷२०७९मा सुरु गरिनेछ । यसै गरी महानगरले डिपीआर सम्पन्न भइसकेका दुईवटा पुलको निर्माणको कामलाई बहुबर्षिय योजना अन्तर्गत राखेर यो आर्थिक वर्षबाट काम थाल्नेछ ।

चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि सात करोड रुपयाँ विनियोजन गरेको छ । सडक विभाग, नेपाल विद्युत प्राधिकरण र ललितपुर महानगरपालिकाबीच केही साताअघि समदारी पत्रमा हस्ताक्षर भएको थियो । यसैगरी कोभिड विशेष अन्तर्गत पाँच करोड रुपैयाँ छुट्याइएको छ ।