पर्वतको देउपुरबासी पहिरोका कारण रातभर जाग्राम

126
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

गाउँमा पक्की मोटरबाटो लैजाने सपना देख्दा पर्वतको एउटा उब्जाउ गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा परेपछि रातभर जाग्राम बस्न बाध्य छन । सुन्तलाका लागि प्रख्यात रहेको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा मोटरबाटो खन्ने क्रममा बस्ती नै भासिएपछि स्थानियबासी रातभर जाग्राम बस्न बाध्य भएका हुन् । पहिरोका कारण विभिन्न बस्तीका करिब ३ दर्जन परिवार जोखिममा परेका छन र

सडक खन्ने क्रममा स्थानिय सामुदायिक वनको करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमिनले ठाउँ छोडेको छ । जसका कारण वन क्षेत्रभन्दा तलका घर तथा कृषि फर्म पुरिने खतरा बढेको छ भने वनमाथिका केही घर पहिरोसँगै खस्ने जोखिममा छन । ‘बर्खा लागेयता रातभर झिमिक्क गरेकै छैन ।

नजिकमा आफन्त हुनेहरुउतै गएर सुत्छन, हाम्रो कोही छैन । रातभर ‘हरिहरि’ भन्दै बस्ने हो ।’ स्थानिय शिक्षक मने कामीले भन्नुभयो‘पहिरोले पुरिने डरमा बस्दा बस्तै जुनी जाने भयो।’ दशकअघि केरुंगा सामुदायिक वन हुँदै खनेको देउपुर–पातीचौर–लप्सीबोट सडकपछि हरेक वर्ष पहिरो खस्न थालेको छ ।

सडक खन्ने बेलामा भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन गरेको थियो । तर, व्यवस्थित नहुँदा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमिन लच्किएको स्थानीयको अनुमान छ । स्थानिय शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरैथोरै गरेर खस्दै गएको छ ।

स्थानीय सुनचापका १४ घर पुरिने खतरामा छ पहिरो खसेकै स्थानमा पर्ने सालघारीका २ र डिहींका २ गरी १६ घर सबैभन्दा बढी जोखिममा छन । त्यसबाहेक कानदेउरालीका २, दोबाटाका ३ र डढुवाबारीदेखि बढहरेसम्मका १० घर गरी १५ परिवार पहिरोको उच्च जोखिममा परेका छन । ‘पहिरो प्रभावित क्षेत्रका ३१ घर बग्ने र १४ घर पुरिने जोखिममा छन ।’ तिमिल्सिनाले भन्नुभयो ‘गाउँमा पहिरोको समस्या धेरै पहिलादेखिको हो, अहिले मोटरबाटो चक्ल्याउन थालेपछि झनै बढेर गयो।’

पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौंको लगानीका कृषि फर्म रहेका छन । पहिरो खस्दा फर्म पुरिएर पूर्ण क्षति हुने अवस्थामा छन । स्थानीय सबिना सुब्बाले ३० लाख रुपैयाँको लगानीमा बंगुर, कुखुरा र माछा फर्म, तेजबहादुर क्षेत्रीले ७ लाख रुपैयाँ र मोदीकै क्याङका युवाले करिब १० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएका कृषि फर्म पनि पुरिने अबस्थामा छन । पहिरोबारे स्थानीय सरकार पनि जानकार नभएको होइन । गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिरोको जोखिममा रहेका बस्ती सार्नुको विकल्प नभए पनि स्थानीयस्तरबाट त्यो सम्भव नभएको बताउनुभयो।