‘सहकारी चाहिन्छ भन्ने धारणा बल्ल स्थापित’



सरस्वती कर्माचार्य, काठमाडौं । 

जुलाई महिनाको पहिलो शनिबार अर्थात् अन्तर्राष्ट्रिय सहकारी दिवस । एकसाथ पुनर्निर्माणलाई कसरी राम्रो बनाउने ‘रिब्युल्ड बेटर टुगेदर’ नाराका साथ नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो । सन् १८४४ मा बेलायतका रोबर्ट ओवेनले शुरुआत गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त गरेको हो । सन् १९९२ डिसेम्बर १६ तारिखमा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आएको छ । नेपालमा भने २०१० सालमा सहकारी सोचको संस्थागत विकास भएको हो । तर, २०१३ सालमा बखान सहकारी संस्थाको स्थापनापश्चात् मात्र नेपालमा सहकारी अभियानको शुरुआत भएको मानिन्छ । सहकारी विभागका अनुसार हाल नेपालमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्ने २९ हजार ८ सय ८६ सहकारी क्रियाशील रहेका छन् । तर, पनि सहकारीले अपेक्षाकृत गुणात्मक फड्को मार्न भने सकेको छैन । यसका प्रमुख कारकको रुपमा सहकारी बचत तथा ऋण क्षेत्रमा बढी केन्द्रित हुनु, उत्पादन तथा स्वरोजगार क्षेत्रमा कारोबार घट्नु, सहकारी शिक्षा र चेतना वृद्धि हुन नसक्नु नै रहेको छ ।

सहकारी क्षेत्रकै धरोहरका रूपमा चिनिने ८४ वर्षीय सूर्यरत्न शाक्य बल्ल सहकारी चाहिन्छ भन्ने धारणा स्थापित हुनु नै अहिलेको उपलब्धि मान्नुपर्ने बताउनुहुन्छ । सहकारी तालिम केन्द्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका शाक्य तालिम केन्द्रको प्रथम प्राचार्य पनि हुनुहुन्छ । सम्पूर्ण सरकारी कर्मचारीले अनिवार्य रुपमा सहकारी तालिम लिनुपर्ने नीति लागू गर्न उहाँको अहंम् भूमिका रहेको थियो । सहकारीको कमजोर व्यवस्थापनलाई सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै उहाँले व्यवस्थापन कमजोर हुँदा सहकारी सही ढंगले अघि बढ्न नसक्ने बताउनुभयो । २०१८ सालमा खरदारबाट सेवा प्रवेश गर्नुभएका शाक्य सहकारीबाट नै सेवा शुरु गरेर उपसचिव पदमा पुगी सहकारी सेवाबाटै अवकाश लिनुभएको थियो । सण्हकारी संख्यात्मक रुपमा मात्रै बढेको तर व्यवस्थापन र यसलाई अनुगमन गर्ने व्यवस्था फितलो रहेमा शाक्य चिन्ता व्यक्त गर्नुहुन्छ । सहकारीमा लाग्नेले सिद्धान्तलाई अनुशरण गरेर अघि बढ्नुपर्नेमा जोड दिँंदै शाक्यले सहकारी अभियन्ताले मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्न नसकेको बताउनुभयो । सहकारी अभियन्ताहरु संस्थाभन्दा व्यक्ति केन्द्रित भएर समस्या पैदा भएको धारणा राख्दै उहाँले प्रत्येक संस्थाहरु मिलेर एकआपसमा सहयोग गरेर काम गरे मात्र सहकारीले मूर्त रुप लिने बताउनुभयो ।

सहकारी सुधारका लागि उहाँले सहकारी अध्ययन मण्डल, सहकारी पद्धति, कार्यमुलक लेखापरीक्षण, सहकारी शिविर सञ्चालन निर्देशिका, सहकारी कार्यक्रम, बजेट, नेपालमा सहकारी आन्दोलन, सहकारी कानुन, दुग्ध सहकारी आन्दोलनलगायतका पुस्तक लेखिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्