आधारभूत निर्वाचन प्रणाली



राज्यको लोकतान्त्रिक ढाँचा र निर्वाचन प्रणाली अन्तरसम्बद्ध विषय हुन् । निर्वाचन अथवा चुनाव प्रजातन्त्रको आधारभूत जग हो । निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन् । प्रतिनिधिहरूका चुनावका अनेक तरिकाहरू हुन सक्छन् । लटरीका टिकट निकालेर नबुझीकन प्रतिनिधिहरूको चुनाव गर्नु एक यस्तो तरिका हो, जसको लोकतन्त्रमा कुनै स्थान छैन । अरु तरिकाहरू सामान्यतः निर्वाचनको मतदान प्रणालीमा नै आधारित छन् ।

यद्यपि यी तरिकाहरू पनि पूर्णतः निर्दोष नै छ्न् भन्ने कुरा होइन, पदप्राप्तिका इच्छुक प्रत्यासी प्रायः मतदाताहरूलाई घूस दिएर अथवा डर देखाएर, धम्क्याएर, जबरजस्ती मत प्राप्त गर्दछन् । विभिन्न प्रकारका अल्पसंख्यक वर्ग उचित प्रतिनिधित्वबाट वञ्चित रहन्छन् ।
राजनीतिक तथा अन्य प्रकारका दल कहिले–कहिले चुनावका लागि कुनै अयोग्य उम्मेदवारलाई खडा गर्छन् । यस्तो हालतमा त्यस दलका मानिसहरूलाई चाहे–अनचाहे त्यसैलाई आफ्नो मत दिनुपर्छ । यी दोषहरूलाई हटाउन अथवा कम गर्न र मतदानलाई स्वतन्त्र एवं निष्पक्ष बनाउनको लागि समय–समयमा निर्वाचनका विभिन्न प्रणालीहरूको विकास गरिएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो । नेपालको विविधतालाई राज्यसंरचनामा न्यायोचित ढंगले प्रतिविम्बित गर्न सकेमा नै दिगो शान्ति र राजनीतिक स्थिरता कायम हुनसक्छ । यस्तो हुन नसके यसले विगत दशकमा जस्तै अन्तहीन द्वन्द्व सिर्जना गर्न सक्छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार व्यवस्थापकीय अंगहरुको निर्वाचनको सन्दर्भमा संघीय संसद् र प्रदेससभाको निर्वाचन मिश्रित सदस्य समानुपातिक प्रतिनिधित्व प्रणाली अथवा प्रणाली अवलम्बन गरिएको छ ।

सर्वाधिक मत प्राप्त व्यक्तिको विजय प्रणाली सबैभन्दा प्राचीन हो । यो प्रणाली ब्रिटेनमा तेह्रौँ शताब्दीदेखि नै प्रचलित रहेको छ । राष्ट्रमण्डलका देशहरू र अमेरिकामा मतदानको यही सर्वसामान्य प्रणाली छ । भारतमा लोकसभा एवं विधान सभाहरूका चुनावहरूमा यसै प्रणालीको प्रयोग गरिन्छ । यसलाई ‘सरल धेरै मत प्रणाली’ पनि भन्दछन् । जुन उम्मेदवारलाई सबैभन्दा अधिक मत प्राप्त हुन्छ त्यही चुनिन्छ । यो प्रणाली सामान्यतः एक सदस्यीय निर्वाचन क्षेत्र प्रणालीदेखि सम्बद्ध हुन्छ ।

– समर अधिकारी, कलंकी ।

नेपाली साहित्यका धरोहर भानुभक्त

भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षालगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरूलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।

नेपाली वाङ्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देश–विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आ–आफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ ।

आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धराजस्ता १३ वटा शास्त्रीय छन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । शार्दुलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । अनुष्टुपजस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धराजस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलंकारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो ।

कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८ मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौँं उपत्यका) र वरपर रामायणका श्लोकसँग भानुभक्त गाइन थाले । सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबु माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सात काण्ड त आठकाण्डका रूपमा अनि कतै भानुभक्तको रामायण, भक्तमाला र बधूशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए । वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए । भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२ को गोरखापत्रले पनि यसरी लेखेको छ– ’गौरी शंकर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो । भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे । अर्को गौरी शंकर नाट्यसमुदायबाट भयो ।’

दार्जीलिङको चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो । ब्रह्मशमशेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए । त्यसै बेला भानुभक्तको महत्वका रूपमा सूर्यविक्रम ज्ञवालीले देखे । नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घाँसीसम्म बन्न पुगे । आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रका रचनाकार पण्डित कविराज नरनाथ आचार्यका कलममा अझ तिखारियो । उनले भानुभक्तसम्बन्धी त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए ।

नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनाको पृष्ठभूमि पहिल्याउने प्रो. ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउँ अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपान आदि प्रशंसाका पात्र छन् । राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्व दिनेहरू पनि छन् । इन्द्ररत्न वज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए । भानुभक्त रामायणको महात्म्य भागलाई संस्कृत मूलसित दाँजेर हेर्दा भनेर डा. डिल्लीराम तिम्सिनाको कलम तिखारियो । केशवप्रसाद उपाध्याय भानुभक्त र उनको रामायणको मूल्यांकन गर्छन् । भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।

– सौरभ तिमल्सिना, तनहुँ ।

प्रतिक्रिया दिनुहोस्