यदुनाथ खनाल एक व्यक्तित्व



यदुनाथ खनालको जन्म काठमाडौंबाट अड्तिस कोश पश्चिम, अन्नपूर्ण हिमालयको प्रेरणादायी काख, तलतिर सेती र मादीको शान्त गम्भीर अनि फराकिलो फाँटनजिक ठाडो डाँडामा रहेको मानुङ गाउँमा वि.सं. १९७० श्रावण २८ गते भएको थियो । त्यहाँ धेरै समयदेखि खनाल परिवार रहँदै आएको भए पनि यो परिवार शिक्षा साधनाका फाँटमा निकै पछि परेको थियो ।

नरनाथ खनालले एक किसिमबाट परम्परा तोडेर काठमाडौं र अयोध्यामा बसी संस्कृतको अध्ययन गरे । अध्ययनपछि यिनी गाउँमा नै खेतीपाती गरिरहन लागे । यिनै नरनाथ र माता तारादेवीबाट यदुनाथ खनालको जन्म भएको हो । गण्डकी अञ्चलको तनहुँ जिल्ला अनि मानुङ गाउँ खनालको जन्मक्षेत्र भए पनि उनको साधना क्षेत्र र कर्म क्षेत्र त्यो गाउँ हुन सकेन । उनी भाग्यमा लहरिँदा लहरिँदै काठमाडौं आए, संस्कृतमा मध्यमासम्मको अध्ययन गरे । त्यसका अतिरिक्त बी. एस्सी, अंगे्रजी साहित्यमा एम. ए., लन्डन विश्वविद्यालयबाट इङ्लिस एजुकेसनल थट् एन्ड प्राक्टिसमा स्नातकोत्तर गरेका थिए ।

वि.सं. २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि आर्जन गर्न पनि उनी सफल भए । यसरी एउटा साधारण ब्राह्मणले त्यसबेला संस्कृतको शिक्षा पाउनु त स्वाभाविक थियो तर अंगे्रजी दुवै विषयको गहन अध्ययन त चानचुने कुरा थिएन । खनाल संस्कृत, नेपाली र अंग्रेजी भाषाका त्रिवेणीका रूपमा छन् । त्यस्तै, उनी संस्कृत भाषाका कवि नेपाली भाषाका समालोचक र अंग्रेजी भाषाका कुशल प्रयोगकर्ताका रूपमा चिनिन्छन् ।

अध्ययनपछि २ हजार सालमा त्रिचन्द्र कलेजमा अंग्रेजी पढाउने प्राध्यापकको रूपमा नियुक्ति पाउने खनाल एक कुशल प्राध्यापकका रूपमा थिए भनेपछि प्रशासक र कूटनीतिज्ञ पनि बन्न पुगे । यसबाट सामाजिक व्यक्तित्व प्रकटिन्छ भने हजारौं चेलाचेलीमा बाँडिएर रहेको उनको भाषाको प्रौढ ज्ञान प्रभावकारी ठहर्छ ।

मन्त्रिपरिषद् सचिवालयका सचिव, गृहसचिव, राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, भारतका लागि शाही नेपाली राजदूत, आर्थिक विकास तथा प्रशासन केन्द्रका अतिथि प्राध्यापक, पुनः परराष्ट्र मन्त्रालयका सचिव, अमेरिकाका लागि शाही नेपाली राजदूत, लोकसेवा आयोगका अध्यक्ष हुँदै उनी जनवादी गणतन्त्र चीनका लागि शाही नेपाली राजदूत पदमा सुशोभित पनि भए ।

विश्व सम्बन्ध परिषद् परोपकार संस्थाजस्ता अनेक संस्थामा पनि उनले सदस्यका रूपमा आफ्नो सेवा अर्पित गरेका छन् । २०१२ मा वाङडुङमा भएको अफ्रो एसियन सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका सदस्य, २०१६,१७ र १८ मा संयुक्त राष्ट्र संघीय महाअधिवेशन भाग लिने नेपाली प्रतिनिधि मण्डलका सदस्य, २०१८ मा बेलग्रेडमा भएको असंलग्न राष्ट्रहरूको शीर्षस्थ सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य, २०२८ मा नेपाल भारत व्यापार तथा पारवहन सम्झौता गर्ने सन्दर्भमा नेपाली पक्षका नेताका रूपमा उनले काम गरेका थिए ।

यसरी उनको व्यक्तित्व कतै गुरुको रूपमा त कतै कूटनीतिज्ञ रूपमा रहेर बहुमुखी बनेको देखिन्छ । प्राध्यापन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका उच्च ओहोदामा रहँदा आफ्नो व्यस्त समय केही न केही रूपमा बचाएर भए पनि लेखनकलालाई खनालले केही न केही चालु राख्ने प्रयास गरेका छन् । खनालका कृतिहरू संख्याका दृष्टिले महत्वपूर्ण स्थान राख्न नसक्लान तर खनाल संस्कृत, नेपाली र अंग्रेजी भाषाका त्रिवेणी भएका र यी तिनै भाषामा राम्रो अधिकार रहेकाले उनका कृतिहरूलाई पनि तीन प्रकारबाट वर्गीकरण गर्नु मनासिब ठहर्छ ।

परम्परा, नैतिकता, प्राचीन आदर्शलाई जीवनमा ममत्वपूर्ण विषय मान्नेतर्फ खनाललाई उन्मुख गराउने आधार हो । संस्कृतको शिक्षा मध्यमासम्म मात्र भए पनि निजी अध्ययनले पनि संस्कृतका नामी विद्वानुमध्ये खनाल एक मानिन्छन् । संवेदनशील एक कविका रूपमा रहेका छन् । अनुदित र मौलिक गरेर उनका कविताहरू संस्कृत भाषाका गहनाका रूपमा रहेका छन् । अनुदित मौलिक गरेर उनका पन्ध्र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

यिनै कविताको संगालो, सूक्ति सञ्चयका नामले २०३२ सालमा प्रकाशित भएको छ । खनाल जसरी संस्कृत भाषामा एक कवि र अनुवादकका रूपमा चिनिन्छन् त्यसरी नै नेपाली भाषामा कवि र अनुवादकका रूपमा नभएर सैद्धान्तिक र प्रयोगात्मक रूपले नेपाली साहित्य र साहित्यकारलाई केलाउने कुशल समालोचकका रूपमा उनका समालोचनात्मक कृतिहरू देखा परेका छन् ।
लामो अवधिमा कहिलेकाहीँ चाख लागेर, कहिले अरूले लगाएको आक्षेपलाई जवाफ दिनुपर्दा, कहिले नेपाली साहित्य र साहित्यकार बारे विदेशीलाई जानकारी गराउनुपर्दा अनि कहिले आत्मसन्तुष्टिका लागि फुर्सदको बेलामौकामा लेख्ता पनि खनालले केही दिए । उनको दृष्टिमा साहित्य अरूअरू कलाजस्तै मानव विशेषताले जातीय वा राष्ट्रिय विशेषता होइन ।

अनि उनका विचारमा साहित्यिक विभूतिहरू राष्ट्रिय वा जातीय विभूति हुनु संयोगको कुरा हो सारको होइन । तर, उत्कृष्ट साहित्यले मानवताको सधैं चुचुरातिर ताक्तछ भन्ने कुरामा खनाल विश्वस्त देखिन्छन् । उनी संस्कृत र नेपाली भाषामा जस्तै अंग्रेजी भाषाका पनि साधक देखिन्छन् । अंग्रेजीमा प्रकाशित उनका पुस्तकहरूमा रिफ्लेक्सन अन नेपाल इन्डिया रिलेसन्स, स्ट्रेट्स, नेपाल ट्रान्जिसन फ्रम आइसोलससनिज्म हुन् ।

यी पुस्तकका अतिरिक्त फुटकर कृतिहरू पनि छन् । यी कृतिहरू नेपालको साहित्य, संस्कृति, परराष्ट्रनीति, इतिहास, पारस्परिक सम्बन्ध जस्ता विषयमा विदेशीहरूलाई चिनारी गराउन पनि लेखिएका हुन् । धेरै वर्ष परराष्ट्र सेवामा काम गर्दा यसरी विदेशी भाषामा लेख्नु आवश्यक पनि हुन जान्छ । यी रचनाबाट पनि नेपालको विचार, दृष्टिकोण र गौरवलाई विश्वव्यापी बनाउन सहयोग पुगेको अनुभव गर्न उचित ठहर्छ ।

खनालको जीवनदर्शन एक विद्वानको रूपमा त प्रतिष्ठित छँदै छ सीधा, सरल र सौम्य प्रकृतिले पनि उनको व्यक्तित्व गरिमामय छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान गरेकाले यथासमय उनले गोर्खा दक्षिणबाहु पहिला दर्जा, त्रिशक्तिपट्ट पहिला, नेपालश्रीपद दोस्रा, अमेरिकाको क्यालिफेर्निया विश्वविद्यालय, क्लयारेमोन्ट ग्रजुयट स्कुलबाट कानुनमा विद्यावारिधि डाक्टर अफ ल, आदिकवि भानुभक्त पुरस्कारजस्ता मानपदवी पाएका छन् । यसरी नेपाली साहित्य, प्रशासन, कूटनीति, सामाजिक सेवा आदिमा अनवरत रूपमा सेवा गर्दै आएका यदुनाथ खनालको दुःखद् निधन २०६१ असोज १६ गते काठमाडौंमा भयो ।

प्रतिक्रिया दिनुहोस्