राष्ट्रिय कविता महोत्सवमा राई प्रथम



काठमाडौं, (नेस) ।

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय हुनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय प्रत्येकलाई ३०–३० हजार र सम्मानपत्रले पुरस्कृत गरिनेछ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा थालनी भएको बताउनुभयो ।कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्राडा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाको फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा सात सय ६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिनुभयो ।वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो । सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईं, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्