घरबेटी प्रधानविरुद्धको मुद्दा फिर्ता



सुनील महर्जन, काठमाडौं । 

रूपा सुनारलाई दलित भएकै आधारमा कोठामा भाडामा नदिएको आरोपमा पक्राउ भएकी सरस्वती प्रधान बुधबार थुनामुक्त हुनुभएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरीकर्ता सुनारको यथेष्ट प्रमाण नभएको भनी मुद्दा फिर्ता गरेको हो । प्रधानको मुद्दा हेरिरहनुभएका अधिवक्ता नरेश श्रेष्ठले यथेष्ट प्रमाण नपुगेको भन्दै प्रहरी कार्यालयबाटै केस टुंगिएको जानकारी दिनुभयो । अधिवक्ता श्रेष्ठले भन्नुभयो– ‘सुनारले जातीय विभेदको जुन आरोप लगाउनुभएको थियो । त्यसलाई प्रमाणित गर्ने तथ्य नभएपछि प्रहरीले फिर्ता लिएको छ । प्रधानले सार्वजनिकस्तरमै सुनारलाई कुनै किसिमको दुव्र्यवहार भने गरेको छैन । कोठाबाट निकालेको, घर भाडा लिएपछि फिर्ता गरेको जस्ता कुनै पनि व्यवहार गरेको छैन । त्यसैले कोठामा भाडामा दिन्न भन्ने आधारमा मुद्दा चलाउन प्रमाण नपुगेको कार्यालयले ठहर गरेको छ ।’

अधिवक्ता श्रेष्ठले सुनारलाई दलित भएकै कारण कोठा दिन सङ्कोच गरेको र यतिकै आधारमा जातीय भेदभाव तथा छुवाछुत कसूर सजाय ऐन आकर्षित नहुने जिकिर गर्दै आउनुभएको थियो ।यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान प्रधानलाई लिन सिंहदरबारस्थित प्रहरी वृत्तमा पुग्नुभएको थियो । प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो । भीडले प्रधान रिहा गर्न माग गरेको थियो । रिहा भएपछि त्यहाँ उपस्थित शिक्षा मन्त्री श्रेष्ठले आफ्नो झन्डावाला गाडीमा राखेर प्रधानलाई बबरमहलस्थित घरसम्म पु-याइदिनुभयो ।प्रधानलाई पक्राउ गरेदेखि स्थानीयबासी र नेवाः समुदायका अभियन्ताहरूले प्रधानको घटनामा जातीय भेदभाव तथा छुवाछुतको कसूर आकर्षित नहुने भन्दै रिहा गर्न माग गर्दै आएका थिए । प्रधान निर्दोष रहेको र उहाँलाई फसाउन खोजेको भन्दै यल जातीय समाजका २० सदस्य समाजहरू, नेपाल भाषा मंका खलः, नेवा दे दबू यल, नेवा ग्वहाली पुचःलगायतका प्रतिनिधिले प्रहरीले पक्राउ गरिएकोमा विरोध गरेका थिए । प्रदर्शनकारीले घरधनी प्रधानले जातीय विभेद गर्ने उद्देश्यले कोठा नदिएको नभई घरमा बस्न आएको मान्छेको चालचलन, पेसा, व्यवसाय बुझ्न मात्र कुराकानी गरेको दाबी गरेका थिए । घरसल्लाह नगरी कोठा दिन नसक्ने बताउँदैमा जातीय विभेद नभएको उनीहरूको भनाइ थियो ।

नेवाः समुदायको विरोध सिंगो दलित आन्दोलनप्रति नभएको बताउँदै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले भन्नुभयो– ‘दलित समुदायप्रति हुने दुव्र्यवहार वा भेदभावप्रति नेवाः समुदाय पनि विरोध गर्दछ । दलित पनि उत्पीडन समुदाय हो, नेवाः पनि राज्यसत्ताबाट बहिष्करणमा परेको समुदाय नै हो । यहाँ प्रश्न २४ वर्षीया सुनारले बडो अमानवीय, अस्वाभाविकरूपमा ५८ वर्षीया प्रधानलाई हिरासतमा पु-याएकोमा हो ।’यसैबीच, जोहेरी कर्ता सुनारले एउटा व्यक्तिका विरूद्ध सिङ्गो समुदाय आउनुले जात व्यवस्था कति जकडिएको छ भन्ने कुरा छर्लंङ्गै भएको बताउनुभयो । उहाँले अहिले भएको व्यवस्थाबाट पूर्णरूपमा न्याय पाइन्छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताउनुभयो । आफूलाई भएको विभेदलाई काठमाडौंको नेवाः समुदायले एउटा व्यक्तिले अर्को व्यक्तिमाथि गरेको विभेदका रूपमा नबुझेर समुदायमाथिको प्रहारका रूपमा बुझेको पनि रूपाले बताउनुभयो । अरू बेला जातीय विभेद गर्नु हुँदैन भनेर बोले पनि आफ्नो कोही मान्छे एउटाले गर्दा कसरी सडकमै जातीय विभेद गर्नुपर्छ भनेर आन्दोलनमा आउँदो रहेछ भनेर छर्लंङ्गै देखिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यसले देशभरि दलित समुदायको हालत कस्तो अवस्था छ प्रस्ट पारेको छ ।’

टेलिभिजन प्रस्तोता सुनारले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारले प्रधानलाई पक्राउ गरेको थियो । सुनारले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो । त्यसबमोजिम कसूर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्