शहीद



  • कमला अधिकारी

हिजोको सपना
ऐठन बनिसक्यो आजसम्म
झस्काइरहेछ त्यसैले
कस्तो अचम्म
बारुदको गन्ध अझै
नाकमै झोसिएको छ
आफ्नै दुनो सोझ्याउने

लाइनमा अझै जोसिएको छ
अझैपनि स्मृतिको गर्तमा
पुरिएको क्षणले बेला बेलामा
चलाउँछ लात्ती
सम्झेर त्यो बेलाको क्षण
चिरिन्छ छाती
अन्तिम श्वासमा
धमिलिदै ती दृष्य

भएका थिए फिका
काखमा दूधे बालक लिएर
उपहारमा दिएकी थियौ आँसुका ढिका
दुई किनारा भयौं हामी
आफ्नै सपनाको बनेर मलामी
आँखामा पर्दा परेसँगै
धमिलिएको मेरो सपनालाई
देशमा दुर्दशाको ऐजेरुले
छलेको छ ।

त्यो विषम घडीमा अडिग थिए पाइला
तर अहिले फतक्कै गलेको छ ।
मात्र एउटै मनोभावले डसेको छ
सधैं यहि प्रश्नको जवाफको
आशमा बसेको छ
राजनेता/जननेता हुन
मान्छेको चार किल्लामा
लुकेर हिड्न पर्ने हो कि कसो ?

निन्द्रा अरुसँग सापटी लिएर
रात काट्नुपर्ने जसो तसो ।
इमान चोखै छ मसँग
सत्ता सौजाबाजीमा चाखे
थापेको छैन
कुकर्म नगरेकै भएर होला
अहिलेसम्म केहि फापेको छैन
एकचोटी पिँढी कुरेकी मेरीआमाको
सँघार टेकीदेऊ

तिम्रो अस्तित्वको जग भए छेउ
कुनै दिन भुसे सिरानी र गुन्द्रीमा
तिमीले जन्माएको स्वर्गीय आनन्दको निन्द्रालाई
पुनरावृत्ति गराईदेऊ
‘चौरासी व्यञ्जन भन्दा
के कम छ र आमा तिमीले पकाएको
खोले र सिस्नो’ भन्थ्यौ
तैपनि एकपटक
आमाको मन राख्नै भएपनि
भाग बसिदेऊ

यहि वचनको आशमा
डहरतिर आँखा बिछ्याउँदै बसेकी छिन्
तगारो खोलेर स्वागतमा
उभिएकी थिन् ।
देशको दुदर्शामा
घिट्केसो थामेर
बसेकी छिन् भई मरितुल्य
सपना खरानी भो
हरायो चुरा र सिन्दुरको मूल्य

प्रतिक्रिया दिनुहोस्