असल र खराब परीक्षण गर्ने कसौटी



प्रेम रावत

हरेक मानिसमा ५० प्रतिशत असलपन र ५० प्रतिशत खराबपनको गुण हुन्छ । तथापि, कतिपय मानिसहरूको भनाइ के छ भने, आजभोलि मानिसमा खराबपनको प्रतिशत बढिरहेको छ अनि असलपनको प्रतिशत कम हुँदै गइरहेको छ । यस्तो पनि होइन । असलपन र खराबपन न त बढ्छ, न घट्छ । यो कुनै नौलो शिक्षा नभएर यो त मानिसकै एउटा प्रकृति हो । किनभने, असलपन मानिसभित्रै छ अनि खराबपन पनि मानिसभित्रै छ । मानिस जहाँसुकै गए पनि आफ्नो खराबीलाई पनि आफैंसँग लिएर जान्छ र आफ्नो राम्रोपनलाई पनि । तपाईँ कतै जाँदा आफ्नो क्रोध र दया दुवैलाई आफैंसँग लिएर जानुहुन्छ । कुरा के मात्रै हो भने, तपाईँ कुन कुरालाई उपयोग गर्नुहुन्छ ।

क्रोध र दयामध्ये तपाईँ केलाई उपयोग गर्नुहुन्छ ? दया पनि तपाईँभित्र छ अनि क्रोध पनि तपाईँभित्रै छ । शान्ति र अशान्ति दुवै तपाईँभित्रै छन् । तपाईँ कहिल्यै यी कुराबाट बाहिर रहन सक्नुहुन्न । कुरा यति मात्रै हो– तपाईँ कुन कुरालाई बढी महत्व दिनुहुन्छ ?खराबी पनि छ अनि राम्रोपन पनि । तर, एउटा राम्रोपन जुन सबैसँग भइरहेको छ– यो श्वास तपाईँभित्र आइरहेको छ अनि गइरहेको छ । यो ती सृष्टिकर्ताको तपाईँमाथिको कृपा हो । तर, यदि त्यसलाई बुझ्न सक्नुहुन्न भने त खराबी नै खराबी देखा पर्दछ । यो संसारमा दयाको अभाव छैन । मानिस त एकदमै दयालु छन् ।एकपटक मैले जयपुर बसपार्कमा एकजना वृद्ध मानिसलाई देखेँ । उनी केही किन्नका लागि बसबाट तल ओर्लिए । त्यतिखेरै उनी चढेको बस हिँड्यो । बिचरा उनी त्यो बसलाई भेट्ने अपेक्षाले पछि–पछि दगुरिरहे तर छिटो–छिटो दौडन सकिरहेका थिएनन् । बस वेगले कुदिरहेको थियो । तब मैले सोेचेँ– अलिक अगाडि गएर त्यो बसलाई रोकूँ अनि बस चालकलाई ‘हजुर ! तपाईँका एकजना यात्रु छुट्नुभएको छ’ भनूँ । यत्तिकैमा दुईजना मानिस मोटरबाइकमा आए अनि उनीहरू झनै अघि पुगेर बसलाई रोक्दै भने, ‘तपाईँका एकजना यात्रु छुट्नुभएको छ !’ ड्राइभरले ती वृद्ध मानिसलाई देखेर बसलाई रोकेपछि ती वृद्ध मानिस बसमा चढे । यो पनि एउटा असलपन हो । बस ड्राइभर पनि दयालु रहेछन् । ती मोटरबाइकमा आएका दुईजना मानिस पनि दयालु रहेछन् ।

यो संसारमा दयालुपनको अभाव छैन । तथापि, यो संसारमा निर्दयी सोचको पनि कमी छैन । जबसम्म हामी हाम्रो ध्यानलाई राम्रोपनतिर केन्द्रित गर्दैनौँ तबसम्म त्यही खराब चीज नै प्रबल हुन्छ । गुण र अवगुण दुवै कुरा बराबरी छ अनि सदा रहनेछ र सधैँ रहिरहेको छ ।आजको समयमा जति पनि मानिसहरूले छलकपट गरिरहेका छन् तिनैको प्रगति भइरहेको छ । किनकि, इमानदार अनि साँचो मानिस पछि परिरहन्छ । यस्तो अवस्थामा ती मानिसले आफ्नो राम्रोपनलाई कसरी पहिचान गर्ने ?छलकपटबाट प्रगति गर्ने मानिसले कहिल्यै आपूmले सफल भएको महसुस गर्न सक्दैनन् । यो कुरा उनीहरूलाई थाहा छ । किनभने भित्रभित्रै यो कुरा उनीहरूलाई पनि खट्किन्छ । गरिब मानिसको अनुहारमा हुने मुस्कान त वास्तवमा साँचो मुस्कान हुन्छ । उनीहरूसँग धेरै नभए पनि, जे जति छ त्यो उनीहरू आफैंको हो । चाहे उनीहरूले महङ्गो सुट नलगाएका होऊन् तर राम्रो कपडा लाएपछि आउने उनीहरूको मुस्कान त ती ठूला–ठूला पदाधिकारीको अनुहारमा मुस्किलैसँग कहिलेकाहीँ मात्रै देखिँदो हो । मुस्कान त कस्तो कुरा होे अरूलाई देखेर आफैँ साँचो मुस्कान आउन थाल्छ । त्यो हो साँचो मुस्कान ! अनि, देखावटी हाँसो फरक हुन्छ । त्यसको प्रभाव केही पनि हुँदैन । सबैभन्दा ठूलो कुरा त के हो भने, जो छलकपटबाट प्रगति गरिरहेका हुन्छन् नि ! तिनलाई आफूलेप्रगति गर्न नसकेको कुरा थाहा हुन्छ । तथापि, जसको हृदयमा खुशी हुन्छ तिनलाई वास्तविकता के हो भन्ने कुरा थाहा हुन्छ ।

यदि तपाईँ पनि आफ्नो जीवनमा राम्रो होओस् भन्ने चाहनुहुन्छ भने गुणलाई अपनाउनुहोस्, अवगुणलाई होइन ।यदि तपाईँ आफूसजिलै निराश र भ्रमित भएको महसुस गर्नुहुन्छ, यदि तपाईँलाई आपूm सजिलै रिसाएको महसुस हुन्छ, तपाईँमा आशा हराउँछ– यसको अर्थ के हो भने तपाईँले आफ्नो जीवनमा खराबीलाई अपनाइरहनुभएको छ ।तपाईँमा भएको राम्रोपनलाई सकेसम्म बाहिर प्रकट हुन दिनुहोस् । त्यो जति धेरै बाहिर प्रकट हुन्छ, त्यति नै धेरै तपाईँको जीवनमा पनि सौन्दर्य बढ्छ । शान्तिलाई बाहिर प्रकट हुन दिनुहोस्, अशान्तिलाई होइन । यी सबै कुरा तपाईँमा छन् । वास्तवमा तपाईँमा अर्थात् हरेक मानिसमा अँध्यारो छ भने दियो पनि छ । यदि तपाईँले चाहनुभयो भने त्यो दियोलाई बालेर आफ्नो हृदयमा उज्यालो भर्न सक्नुहुन्छ । यो क्षमता तपाईँमा छ अनि यो तपाईँको वास्तविक क्षमता हो ।यो शान्ति र आनन्दका लागि अनि आफ्नो जीवनलाई सफल पार्नका लागि प्रयास गर्नुहोस् । यसमा धेरै समय लाग्दैन । तपाईँको गुणले तपाईँको अवगुणलाई चिन्दैन अनि तपाईँको अवगुणले तपाईँको गुणलाई चिन्दैन तर हामीभित्र दुवै कुरा रहेका छन् ।

अतः हामीले त्यो शान्तिसम्म पुग्नका लागि सधैँ कोसिस गर्नु आवश्यक छ । हामीभित्र भएको राम्रोपनसम्म पुग्न सकौँ । त्यसलाई अगाडि बढाऔँ अनि आनन्द लिऊँ, किनभने यो जीवन आनन्द लिनका लागि प्राप्त भएको छ ।जीवनमा सफलता पाउने चाहना हरेक मानिसमा हुन्छ । कोही राम्रो जागिर पाएर सफलता पाउन चाहन्छ भने कोही ठूलो घर बनाएर । तर, यी सबै कुराहरूसँगै हामीलाई के पनि थाहा हुनुपर्छ भने वास्तविक सफलता भनेको के हो ? यस्तो के गर्न सकिएला जसबाट जीवनमा वास्तविक सफलता प्राप्त गर्न सकिन्छ ? हरेक नयाँ दिनले आफैंमा एउटा नयाँ आशा र उमङ्गका साथमा यस जीवनलाई सफल बनाउने एउटा अर्को मौका प्रदान गर्दछ । त्यसकारण के बुझन् आवश्यक छ भने, हामीले यस जीवनको सफलताका लागि छानिरहेको विकल्प के ठीक छ त ?प्रायः मानिस के विश्वास गर्ने गर्छन् भने, कोही न कोही विशिष्ट व्यक्ति अवश्य पनि प्रकट हुनेछन् र सबै समस्यालाई चुट्कीका भरमा समाधान गरिदिनेछन् । तर यथार्थ भने त्यस्तो छैन । सत्य के हो भने, आफ्नो समस्यालाई सुल्झाउनका लागि तपाईँ आफैं सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । अतः तपाईँ स्पष्ट भएर हेर्न शुरु गर्नुहोस् । उचित विकल्पलाई चुन्नुहोस् अनि छान्नुभएको विकल्पलाई व्यवहारमा ल्याउनुहोस् ।

जीवनमा हामीले अवश्य पनि विकल्पलाई रोज्नुपर्छ । हामी अत्यन्तै निराशाजनक अवस्थामा भए पनि विकल्पलाई छनोट गर्नुपर्छ । कहिलेकाहीँ यो गाह्रो हुन सक्छ तर असम्भव भने हुँदैन । किनभने हामीमध्ये हरेक व्यक्तिभित्र शक्तिको एउटा ठूलो स्रोत छ ।यसै सन्दर्भमा एउटा सानो सिंहको कथा छ । जङ्गलमा आगो लागेका कारण एउटा सिंहको बच्चो (डमरु) आफ्नी आमाबाट विछोडिएको थियो । उसकै छेउबाटै एकजना भेडा गोठाला गइरहेका थिए । उनले त्यो सानो सिंहको बच्चालाई देखेर आफूसँगै घरमा लिएर गए । उनले त्यो सिंहको बच्चालाई भेडासँगै राखिदिए । समय बित्दै गयो अनि त्यो सिंहको बच्चो भेडासँगै ठूलो हुँदै गयो ।एक दिन एउटा ठूलो सिंह आयो अनि जोडसँग गर्जिन थाल्यो । यसै कारणले सबै भेडाहरू आफ्नो ज्यान जोगाउनका लागि यता–उता लुक्न लागे । सबैलाई लुकेको देखेपछि त्यो सिंहको बच्चो पनि लुक्न गयो ।

ठूलो सिंहले यस्तो देखेर सोध्यो, ‘तिमी किन लुकिरहेका छौ, तिमी त सिंह हौ ।’सानो सिंहले भन्यो, ‘त्यो त ठीक हो तर तपाईँ मलाई नखानुहोस् !’यो कुरा सुनेर ठूलो सिंहले सबै कुरा बुझ्यो । भेडासँगै बस्दा–बस्दा यो सानो सिंहले आपूmलाई भेडो नै भनेर मान्न थालेछ । उसले त्यसलाई नदीको किनारमा लगेर भन्यो, ‘हेर तिमी को हौ ?’ त्यसपछि सानो सिंहले भन्यो, ‘म त ठ्याक्कै तपाईँ जस्तै छु ।’ठूलो सिंहले भन्यो, ‘हो, तिमी सिंह हौ ! आफ्नो शक्तिलाई चिन अनि जोडले गर्जना लगाऊ ।’यो कथाको सार के हो भने, आफ्नो शक्तिलाई चिन्नुहोस् । आफ्नो साँचो स्वरूपलाई पहिचान गर्नुहोस् । वास्तविक सफलतालाई प्राप्त गर्न सबैभन्दा उत्तम विकल्पलाई चुन्नुहोस् । जुन विकल्पलाई तपाईँले चुन्नुहुन्छ, त्यसलाई व्यावहारिक रूपले आफ्नो जीवनमा ल्याउन प्रारम्भ गर्नुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्