बाबुराम र बालेन अपेक्षा र देन



काठमाडौं ।

सक्रिय नेताहरुमा डा. बाबुराम भट्टराई र बालेन साहप्रति नेपालीहरुको भिन्न प्रकारको अपेक्षा देखिन्छ। दुई पुस्ताका यी नेतामा केही समानता छन्– भ्रष्टाचार गरेको देखिँदैन, आ–आफ्नो क्षेत्रमा बौद्धिक उचाइ हासिल गरेका छन्, कामलाई पूजा गर्छन्– आफ्नो स्तरको काम पाए मात्र गर्छु भनेर गजक्क पर्दैनन्।

स्वदेशी वा विदेशी शक्तिको आडमा जनतालाई झुक्याएर आफ्नो दुनो सोझ्याउने काम यिनीहरुबाट आजसम्म भएको देखिँदैन, धरातलीय यथार्थलाई स्वीकार गर्छन्, नेपाललाई रातारात जापान बनाउने सपनाको खेती गर्दैनन् । पदलाई च्याँखे थापेर पार्टी र कुर्सीका लागि कमिसन जम्मा पार्ने काम पनि यिनीहरुबाट भएको देखिन्न । बन्द कोठाभित्र मस्ती गर्ने तर बाहिर साधु बनेर मुस्कुराउने दोहोरो मापदण्ड पनि यिनीहरुले देखाएको पाइँदैन ।

त्यसो त दिवंगत नेताहरुको स्मरण गर्ने हो भने हामीकहाँ स्वच्छ र क्षमतावान् नेताहरुको लामो सूची नै तयार हुन्छ । बीपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी आदिको स्मरणले मात्र पनि एक प्रकारको गौरवानुभूति हुन्छ। दुर्भाग्यवश, ती नेताहरुलाई पनि राजनीतिक दलको घेराबन्दीमा पारेर भिन्न दलका व्यक्तिले निकृष्ट प्रकारका शब्दहरुको प्रयोग गर्दै गाली गरे। उनीहरुलाई अपमान र तिरस्कारका भाटाहरुको प्रहार भयो । तर पनि जब उनीहरुको शरीर पञ्चभौतिक तत्वमा विलीन भयो तब सबैले प्रशंसाको पुल बाँधे । राजनीतिक दलको सीमामा बाँधिएर विरोध गर्नेहरु पनि समर्थनमा एकीकृत भए । दिवंगतहरुको समर्थन गर्दा कुनै जोखिमको सम्भावना पनि रहेन, किनभने उसले भोलि विरोधी दललाई नोक्सान पार्न सक्ने सम्भावना रहेन ।

कोइरालादेखि भण्डारीसम्मका दिवंगत नेताहरुले सम्पूर्ण जीवन खर्चेर जुन उचाइ बनाए, त्यसमा कति व्यथा थियो, कति समर्पण र सादगी व्यवहारको प्रदर्शन थियो, त्यतातिर ध्यान दिने गरिन्न । खासगरी, हामीले उनीहरु जीवित रहँदै उनीहरुलाई समर्थन र सहयोग गर्न सकेको भए, मुलुकले निकै फड्को मार्न सक्थ्यो। कुशलताका साथ सरकारको नेतृत्व गर्दागर्दै कृष्णप्रसाद भट्टराईलाई उनकै पार्टीका अर्का नेता गिरिजाप्रसाद कोइरालाले रुँदै पद त्याग गर्न बाध्य पारे। सरकार चलाउन किशुनजीलाई दिएर गिरिजाप्रसादले नेपाली कांग्रेसलाई बलियो बनाएका भए मुलुकमा राजनीतिक अस्थिरताको मूल फुट्ने थिएन। विश्वेश्वरप्रसाद र राजा महेन्द्रलाई एकसाथ खडा गराएर मुलुकको विकास गर्ने वातावरण बनाउन सकेको भए आज विश्वमा नेपाल टर्च बालेर खोज्नुपर्ने पहिचानमा सीमिति हुने थिएन । दुवै व्यक्तित्व मेधावी थिए, दुवैको लक्ष्य देश बनाउने नै थियो । जीवनको उत्तरार्धमा आएर बीपीले राजा र मेरो घाँटी एउटै हो भने, यो घाँटी सात सालमै जोडिएको भए आज एकासी सालमा आउँदा नेपाल पक्कै सिंगापुरको उचाइमा पुगिसकेको हुने थियो । तर त्यसो हुन दिइएन । परिणामस्वरुप देशमा १७ हजार नेपालीले अकाल मृत्युवरण गर्नुपर्ने सशस्त्र द्वन्द्व भयो । राजनीतिक स्थायित्व भएन । आज विकासका हरेक बाटाहरु ओरालोतिर मात्र दौडिरहेका छन् । कतै आशाका किरणहरु देखिँदैनन् ।

मुलुकको आर्थिक समृद्धिका लागि नेपालमा लगानी गर्न पूँजी नभएको होइन, वातावरण नभएको हो । लगानी हुन नसकेर नेपाली बैंक तथा सहकारी संस्थाहरुमा खर्बौं रकम फ्रीज छ । वित्तीय संस्थाहरु लगानी गर्न नसकेर ब्याज घटाउँदै निक्षेप ग्रहण गरिरहेका छन् । सरकार बाह्य मुलुकका लगानीकर्तालाई आकर्षित गर्न सम्मेलनको आयोजना गर्छ र निराश हुन्छ । केही लगानीकर्ताहरु लगानी गर्छन् र राजनीतिक दलहरुले नेपाल बन्दका कार्यक्रमहरु आयोजना गरेर हिंसात्मक अवरोध सिर्जना गरेपछि कुम्लो–कुटुरो बाँधेर घर फर्किन हतारिन्छन्। आज शहर–बजारमा सटर, फ्ल्याट, रुम र परिसर भाडामा खाली भएका सूचनाहरु बढिरहेका छन्। विदेश जाने र नफर्किने नेपाली परिवारको संख्या पनि घटेको छैन । वैदेशिक रोजगारीमा पठाउने नेपालका एजेन्टका अफिसहरुमा भीड बढेको बढ्यै छ। आम जनताका सरोकारका विषयमा राज्यसत्ता चासो दिंदैन, सरकारमा टिकिरहने उपायहरुको खोजी गर्दागर्दै उसको गिदी भरिएको छ । त्यहाँ देश विकासको भिजन छैन । भ्रष्टाचारको दलदलले कसैलाई टाउको उठाउन दिएको छैन । राजनीतिक दलमा भ्रष्टाचार छ, त्यसैले कुनै दल पनि आर्थिक कारोबारको फेहरिस्त सार्वजनिक गर्दैनन्, पारदर्शिताको नाम सुन्दा उनीहरुलाई पिसाब लाग्छ । पार्टी चलाउन खर्च चाहिन्छ भन्दै नेता, कार्यकर्ता, व्यापारी, कर्मचारी सबैसँग चन्दा असुल्ने र उनीहरुलाई भ्रष्टाचार गर्न अभिप्रेरित गर्ने कार्यले तीव्रता पाएको छ । निर्वाचनमा उम्मेदवार हुने व्यक्ति चुनाव प्रक्रिया नै खर्चिलो भएका कारण कमिसन र भ्रष्टाचारको दलदलमा फस्ने गर्दछ । चुनावको खर्च उठाउन नसक्ने डरका कारण ऊ ‘मेन्टल डिसअर्डर’ मा जाने सम्भावना छ ।

यस आलेखमा बाबुराम र बालेनको नाम पुस्तान्तरण प्रतिनिधि पात्रका रुपमा मात्र लिइएको हो, हरेक साना–ठूला राजनीतिक दलमा भ्रष्टाचार गर्नुहुन्न भन्ने व्यक्ति छन् । पार्टीको ह्वीप मान्नुपरेका कारण कमिसन स्वीकार गर्ने र दलको नेतृत्वलाई बुझाउने मन्त्री र नेताहरुको संख्या पनि उल्लेख गर्नलायककै छ । तर पनि भ्रष्टाचार रोकिएको किन छैन भने, मुलुकको नेतृत्व नै भ्रष्ट छ । प्रभावशाली छिमेकी राष्ट्र र टाढाका महाशक्तिहरु पनि नेपालमा भ्रष्टाचार बढाउन प्रत्यक्ष–परोक्ष रुपले सघाइरहेका छन् । भ्रष्टाचार आर्थिक कारोबार मात्र होइन, आचारसंहिता र अनुशासनबाहिरको व्यवहार पनि भ्रष्टाचार हो भन्ने हामीकहाँ भ्रष्टाचार संस्कार बनिसकेको छ ।

यस्तो बेला भ्रष्टाचार नगर्ने प्रतिबद्धताका साथ उभिएका बाबुराम र बालेन मात्र होइन, उनीहरुजस्ता सबै नेता, कर्मचारी, व्यापारी स्तुत्य छन् । उनीहरुलाई साथ, सहयोग र प्रशंसा चाहिएको छ। विगतमा किशुनजीलाई पद छोड्न बाध्य पारेका बेला नबोल्ने, पछि उहाँ महान् हुनुहुन्थ्यो भनिदिएर शुद्धीकरणको गोदान गर्नुको के अर्थ ! मुलुकले स्वच्छ छविका व्यक्तिबाट पाउन सक्ने लाभ गुमेपछि गरिएको प्रशंसा र सहयोग अर्थहीन हुन जान्छ ।

बाबुराम र बालेनको नामै किटेर प्रशंसा गर्नुको कारण के भने, मुलुकलाई ठूला राजनीतिक दलहरुले ‘भिजन–मिसन’ दिन नसकेका बेला उनीहरुले भने हामी यसरी अघि बढ्छौं भनेका छन् । ठूला दलहरु नाममा ‘लोकतन्त्र’ राख्ने तर व्यवहारमा अधिनायकत्व चलाउने, नाममा ‘कम्युनिस्ट’ भन्ने तर चीनबाट सी जिनपिङ आएर ‘यस्तो व्यक्तिवादी र स्वार्थी चरित्रले त कम्युनिस्ट होइन्न’ भनेर सिकाउनुपर्ने अवस्थामा छन्। यतिखेर जनतालाई ठूला कुराभन्दा स–साना काम चाहिएको छ। जनता अग्रगामी वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन्।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र छ, संविधान र कानुनको अभाव पनि छैन, तर पनि देशले निकास पाएको छैन। यतिखेर अधिकांश नागरिकमा देशमै बसेर देश बनाउन होइन, देश छोडर विदेशमा गई व्यक्तिगत जीवन बनाउने लालसा पलाएको छ । ठूला राजनीतिक दलका नेताहरुले कहिल्यै वैदेशिक रोजगारीका एजेन्टका कार्यालयमा बढ्दो भीडलाई देखेनन् । मुलुक युवाविहीन हुने दिशामा पुगेको तीतो सत्य स्वीकार गरेनन् । यति सुन्दर मुलुकप्रति आफ्नै नागरिकको आकर्षण बढाउन सकेनन् । तुलनात्मकरुपमा निकै सानो पार्टी नेसपा नयाँ शक्ति चलाएर बसेका डा. बाबुराम भट्टराई र पार्टी नै नभएका बालेन साहको जति विश्वास दिलाउन पनि ठूला भनिएका दलहरुलाई मुस्किल भएको देखिन्छ । वैचारिक अडान गुमाएका कारण नै ठूला दलमा भ्रष्टीकरण देखिएकोमा शंका छैन । सानो दल वा व्यक्ति मात्र पनि निश्चित विचार र दर्शनका साथ अघि बढेको छ भने त्यसप्रति जनआस्था बढ्नु स्वाभाविक हुन्छ ।

‘अब म कम्युनिस्ट होइन, समाजवादी हुँ’ भन्ने उद्घोष डा. बाबुराम भट्टराईको पहिलो राजनीतिक इमानदारी हो । पार्टीको नाम कम्युनिस्ट राख्ने व्यवहार र चरित्र त्यसको विपरीत देखाउने हो भने राजनीतिक तथा वैचारिक इमानदारी देखिन्न । सत्तामा पुग्न हिजो सर्वहारा अधिनायकत्व भन्ने तर पुगिसकेपछि सर्वहाराको ‘स’ पनि नदेख्ने, साम्राज्यवाद र विस्तारवादविरुद्ध लड्नका लागि जनताको मत माग्ने तर कुर्सी पाएपछि ती शक्तिकै पाउ खोजेर ढोग गर्ने मानसिकता इमानदारी होइन । डा. भट्टराईले त्यो इमानदारी देखाएर आफूलाई नेकपा माओवादी केन्द्रभन्दा बाहिर राखे । नामसँग काम मिल्नु नै इमानदारीको पहिलो पहिचान हो । समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवादलाई राजनीतिक आधार बनाएर उभिएका डा. भट्टराईले समतामूलक समृद्धि, समानुपातिक समावेशी सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचार, स्वाधीनता र सार्वभौमिकता तथा समुन्नत समाजवादसहित पाँच ‘स’को सिद्धान्त अघि सारेका छन् ।

वस्तुतः राजनीतिक दल र नेतृत्वमा सैद्धान्तिक अडान त चाहिन्छ नै, साथमा उसको चरित्र र व्यवहार हेरेर नै मानिसले आफूलाई उसको पछि दौडाउँछ । बुद्ध, गान्धी, महावीर, मार्टिन लुथर आदिका पछि मानिस कुनै पद पाउनका लागि लागेका थिएनन्, वास्तवमा सत्यका पछि लाग्ने हुटहुटीले उनीहरुलाई त्यहाँ उभ्याएको हो । क्रान्तिकारी पृष्ठभूमिका नेता डा. बाबुराम र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका पछि लाग्ने सोच पनि भौतिक स्वार्थभन्दा माथि हुनुपर्छ । पद, प्रतिष्ठा, पैसा आदि भौतिक सुविधा हुन् तर भोको मानिसलाई भरपेट भोजन गराउँदाको आनन्द आध्यात्मिक सोचको निकट छ।

पूर्वीय दर्शनमा आध्यात्मिक चिन्तन भन्नाले भगवानको अस्तित्व स्वीकार गर्ने मान्यता बुझिन्छ। तर यस मान्यताबाट तटस्थ रहेर देश र जनताको सेवाबाट प्राप्त हुने सन्तुष्टिलाई पनि आध्यात्मिक मान्न सकिन्छ। कम्तीमा यसलाई पञ्चभौतिक तत्वभित्रै राख्ने हो भने पनि यस भावलाई आकाश तत्वको निकट राख्नु ठीक हुनेछ। व्यक्तिको जीवनमा मन, भावना, सोच, सन्तुष्टि आदि भावनात्मक तत्वहरुको अस्तित्व निकै बलियो हुन्छ। त्यसैले छोटो जीवनमा भौतिक सुख–समृद्धिका लागि मात्र नभएर आध्यात्मिक वा आकाश तत्वको सन्तुष्टिका लागि पनि समय लगाउनु आवश्यक छ।

यही आवश्यकताको पुष्टिका लागि हिजो बीपी, मनमोहन, गणेशमान, किशुन, मदनलाई सघाउन नसकेर जसले छटपटीको अनुभूति गरिरहेका छन्, उनीहरुका लागि बाबुराम र बालेन तथा उनीहरुजस्ता सक्रिय स्वच्छ पात्रहरु उपयोगी हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्