ट्राफिक व्यवस्थापनमा जुट्यो तानसेन नगरपालिका

0
Shares

पाल्पा, (नेस) ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा सडक मिचेर बनेका पेटीहरु धमाधम भत्काउन सुरु गरिएको छ । तानसेन नगरपालिकाले सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका साथै सार्वजनिक जग्गाको सुरक्षा गर्ने भन्दै यस्तो कार्य शुरु गरेको हो ।

तानसेन नगरपालिकाका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेर सडक पेटी हडप्ने र सडक मिचेर व्यापार गर्नेहरुको सामान जफत, सडक मिचेर बनाएका पेटीहरु भत्काउनेलगायतका कार्य सुरु गरिएको छ ।

‘कतिपय घर नक्सापासबिनाका छन्, कतिपय मापदण्डबिना नै निर्माण भएका छन् । अझै सडक मापदण्ड नपु¥याई निर्माण गर्ने प्रवृत्ति कायम छ’, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भन्नुभयो– ‘तानसेनको मखनटोलका सडकमा रहेका पेटीहरु शुक्रबारदेखि नगर प्रहरीले भत्काउन थालेको र यस कार्यलाई अन्य टोलमा पनि विस्तार गरिनेछ ।’

पछिल्लो समय पुरातात्विक र ऐतिहासिक शहरका रूपमा परिचित तानसेनमा घर ठूला बनाउने प्रचलन बढदै गएको छ । तर घर बनाउने क्रममा सडकको मापदण्ड पूरा नहुने गरेको सरोकारवालाको भनाइ छ ।

यस महिनाको शुरुमा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले नगरको सौन्दर्यीकरणमा नगरका फुटपाथ र सडकपेटीहरु भत्काउने, नगरको सडकलाई व्यवस्थित बनाउने र त्यसका लागि नगरपालिकाले एक हप्ताभित्र योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पहिले सडक पेटीमा राखिएका र अव्यवस्थितरूपमा खोलिएका सडकपेटीका पसल हटाउने कार्य गरेपछि दोस्रो चरणमा पेटी भत्काउन शुरु भएको नगरप्रमुख शाहीको भनाइ छ ।