तर्साएकै भरमा प्रधानमन्त्रीले राजीनामा दिनु हुँदैन : बिजुक्छे


पुष्कर बुढाथोकी, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तर्साएकै र भनेकै भरमा राजीनामा दिन नहुने बताउनुभएको छ । भक्तपुरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले देशको मुख्य व्यक्ति भएपछि प्रधानमन्त्री ओली अडानमा बस्न सक्नुपर्नेमा जोड दिनुभयो ।
कसैले भनेकै भरमा प्रधानमन्त्रीले राजीनामा दिए सिद्धान्ततः गलत हुने र ओली नालायक ठहरिने भएकाले अडानमा बस्नुपर्ने उहाँले बताउनुभयो । सत्तामा बस्ने लुरे हुन नहुने बताउँदै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने बेला यो नभएको उहाँको भनाइ थियो ।
सत्तारूढ दल नेकपाभित्र प्रधानमन्त्रीको मात्र खेदो खन्ने काम गर्नुभन्दा पनि पार्टीले आफ्ना नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूमा निःस्वार्थ र इमानदारीपूर्वक जनताको सेवा गर्न उत्साहित गर्न सक्नुपर्नेमा जोड दिनभुयो । नेकपाको विवाद आन्तरिक भएको बताउँदै बिजुक्छेले यसको समाधान पार्टीभित्रैबाट र संसद्को प्रक्रियाबाट समाधान निकाल्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद गर्नुभन्दा हिम्मत भए अविश्वासको प्रस्ताव ल्याएर प्रम ओलीलाई हटाउनसक्नुपर्ने बताउनुभयो । कोरोनाको कहरमा पार्टीभित्र झगडा गरी बस्नुभन्दा अहिलेको महत्वपूर्ण कुरा भनेको देश जोगिन्छ कि जोगिँदैन भन्नेतर्फ लाग्न नेकपाका नेताहरुलाई आग्रह गर्नुभयो । नेकपाको झगडा सैद्धान्तिक नभई लेनदेनको झगडा भएकाले प्रधानमन्त्री ओलीलाई लेनदेन मिलाउन आग्रह गर्नुभयो ।