भद्रपुर, (नेस)
झापामा हालसम्म १ सय २२ वटा सीमास्तम्भ फेला परेका छैनन् । भारतसँग १ सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन्, जसमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । ७६ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
दक्षिणी झापाको कचनकवल–४ स्थित पाठामारीमा रहेको नेपाल–भारत सीमानाको ११२ नम्बरको जङ्गे पिलर ढल्ने अवस्थामा पुगेको छ । यो वर्ष मात्र १६ वटा पिलरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
संरक्षणका लागि विभागमा जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । दुवै देशका नापी विभागको प्राविधिक टोलीले यही महिनाबाट स्थलगत अनुगमन गरी पुनःस्थापन गरिने विभागबाट जानकारी पाएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।
गत तीन वर्षयता ७० वटाभन्दा बढी पिलरमा क्षति पुगेको तथ्याङ्क रहेको उहाँले जनाउनुभयो । कटान रोकथामका लागि कचनकवल गाउँपालिका अध्यक्ष अञ्जरा आलमलाई जानकारी गराइसकेको उहाँको भनाइ छ ।
केही वर्षयता पूर्वी तटबाट मेची नदी निरन्तर पश्चिमतिर कटान गर्ने क्रम रहँदा पालिकाले त्यसतर्फ ध्यान दिएका छैनन् । नेपाल–भारत सीमाना छुट्याउने पिलर ढल्ने अवस्थामा पुगे पनि दुवै देशका सुरक्षा बलले कटान रोक्न सरकारी ध्यानाकर्षण गराएको जनाए पनि हालसम्म जस्ताको त्यस्तै छ ।
सीमा आसपासका बासिन्दा नसिर अलम चार वर्ष अगाडिसम्म मेची नदीको वहाव एक किलोमिटर पूर्व नै रहेको बताउनुहुन्छ । त्यसयता निरन्तर पश्चिमतिर धार परिवर्तन गरेको नदीको कटानका कारण सीमा क्षेत्रको नेपाल–भारत दुवै देशतिरको सयौं बिगाह जमिन कटान गरिसकेको उहाँको भनाइ छ ।
नेपालीहरूले नेपालतिरको सरकार गुहार्दै नदी कटान रोक्न अनुरोध गरेपश्चात् सीमा स्तम्भभन्दा एक किलोमिटर माथिसम्म तटबन्धनको काम ६ वर्ष अगाडिबाट शुरू भए पनि पूरा हुन सकेको जाकिर राजवंशीले बताउनुभयो ।
नेपाल भारत दुवै देशको साझा सरोकारको विषय भए पनि दुवै देशका सरकारी पक्षको चासो सीमा पिलर जोगाउन नरहँदा ११२ नम्बर पिलर अर्को वर्ष देख्न पाइने नपाइने केही भन्न नसकिने स्थानीयको भनाइ छ ।
सीमा पिलरको विषय प्राविधिक भएकाले विभागमा जानकारी गराउने मात्र काम भएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले बताउनुभयो । पिलरको फोटोसहित लिखित जानकारी विभागमा गराइसकेकोले यही महिनामा दुवै देशका टोली अनुगमनमा आउने उहाँको भनाइ छ ।











प्रतिक्रिया