कालीगण्डकी करिडोर : २२ किमि सडकको ठेक्का स्वीकृत


दुर्गाप्रसाद शर्मा, पर्वत

दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किमि पक्की सडकका लागि बहुवर्षीय ठेक्का सुनिश्चित भएको छ।

पर्वतको बिहादी गाउँपालिका–२ रानीपानीदेखि फलेवास नगरपालिकाको कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक १ अर्ब २४ करोड रुपियाँ बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृत दिएको हो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्डका लागि सुनिश्चित भएसँगै अब छिट्टै टेन्डर आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना (गैंडाकोट–राम्दी–मालढुंगा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो ।

‘बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ’, प्रमुख देवकोटाले भन्नुभयो– ‘अब केही दिनभित्रै टेन्डर आह्वानको प्रक्रिया शुरु गर्छौं ।’ करिडोरको रानीपानी–कुर्घा खण्ड डबल लेनमा ७ मिटर कालोपत्रे हुनेछ । यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अथक् प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो ।

अध्यक्ष र सचिवालयले आयोजनाको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग, हुँदै अर्थ मन्त्रालयसम्म पहल गर्नुभएको करिडोर प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहनेछ । सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमिमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको ७ किमि सडक कालोपत्रेको टेन्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

कालिगण्डकी करिडोरको पर्वत खण्डको महŒवपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयले खुसी व्यक्त गरेका छन्। सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाले सबैभन्दा बढी फाइदा लिने अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । लोकमार्ग किनारमा रहेका रानीपानी, बर्रार्चार, बाच्छा, पाङराङमा बस्ती विकास हुनेछ भने बर्राचौरमा बन्दै गरेको उद्योग ग्राम सडक किनारमा नै छ ।

तराई र मधेससँग प्रत्यक्ष सम्पर्क हुने तथा सेतीवेणीजस्ता धार्मिक पर्यटकीय स्थलको विकासका लागि समेत सहयोग पुग्ने अध्यक्ष भुसालले बताउनुभयो । ‘यो सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाको आर्थिक र सामाजिक विकासमा कायपलट हुन्छ’, उहाँले भन्नुभयो– ‘राष्ट्रिय राजनीतिमा पर्वतका जनप्रतिनिधिको पहुँचका कारण यो सम्भव भएको हो ।’

यसैबीच करिडोरअन्तर्गत मालढुंगादेखि बेनीसम्मको सडकको स्तरोन्नतिका लागि हालै टेन्डर आह्वान भएको छ । सो सडकको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो । मुग्लिन–नारायणगढ सडककै मोडलमा कालोपत्रे हुनेछ ।