शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ सहितको टोलीद्वारा धोबीखोला करिडोरको स्थलगत अवलोकन

एक हप्ताभित्र करिडोरको खाल्डाखुल्डी पुर्नुस् : मन्त्री श्रेष्ठ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहितको टोलीले खोलाले ओगटेको दाया र बाया गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

‘मैले तपाईहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ ,हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहदैन तत्काल निर्माण गरिनुपर्छ –उहाले निर्देशन दिनुभयो ।मन्त्रीको निर्देशन दिए लगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्र्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिनुभएको थियो ।

मन्त्री श्रेष्ठले अतिब्यस्त माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भैरहेने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिनुभएको थियो । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उहाले भन्नुभयो–सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।

सो करिडोरले छोएको अधिकांस पुलमुनी अन्डरपास निर्माण भएपनि सो पुलमुनी फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराउनुभएको थियो ।

ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाध्दै पुलमुनी पुगेर निरीक्षण गर्नुभएको थियो । लगत्तै चावहिल स्थित ओम अस्पताल पारि पुग्नुभएका मन्त्री श्रेष्ठले बाटोमा मंगाल देखेपछि अचम्म मान्नुभयो ।

भन्नुभयो–ओ हो बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ? मन्त्रीको उहाको प्रश्नमा आयोजना प्रमुख डा तिवारीले उत्तर दिनुभयो मन्त्री ज्यु आजै यो मंगाल छोप्नेछौ । मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएको थियो ।

करिडोरभित्र पर्ने पुलमुनी फोहोर थुपारिएको, फुटपाथमा व्यावसाय सञ्चालन गरिएको , विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको थियो । हेर्नुस त करिडोरको हालत यस्तो ? हाम्रो अधिकारक्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसंग तत्काल समन्वय गर्न लगाउनुस–स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्ठले भन्नुभयो ।

अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो । निर्माण गर्न अवरोध वा समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउयन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो ।

टोलीले धोबीखोला करिडोश शुरु भएको बुढानिकण्ठ देखि काठमाडौं र ललितपुरका सिमाना शंखमुलसम्म निरीक्षण गरेको थियो । निरीक्षण क्रममा सचिव डा. सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने जानकारी गराउनुभएको थियो ।

उहाले करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपा व्यवस्थित गर्ने, र खाल्डाखुल्डी पुर्ने काम एकसाताभित्र सकिनेगरी आजैबाट हुरु गर्ने बताउनुभएको थियो । अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफुसंगै अवलोकनमा गएका सञ्चारकर्मीले आफ्नो आखाले देखे अनुसार रिपोर्टिङ गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली ज्युले समेत विषेश चासो व्यक्त गर्नुभएको करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रमका विदेश मामिला सल्लाहकार भट्टराई मन्त्रालयका सचिव र प्राधिकरण प्रमुख सहितको टोली करिडोर अवलोकन भ्रमण गरेको मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाले उपत्यकाको लाइफलाइनको रुपमा रहेको धोबीखोलाको इज्जत र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्रीको भनाई थियो । केही समस्या भए म र सिङगो मन्त्रालयसंग सल्लाह गर्न आउनुन, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउन हामी सबै लागौ –मन्त्री श्रेष्ठको भनाई थियो ।

परियोजनाको बारेमा जानकारी गराउनै प्राधिकरणका प्रमुख डा. तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पुर्ण काम सम्पन्न हुने जानकारी गराउनुभयो । हामीले बाटो खोलिसकेका छौ केही सामान्य समस्या बाहेक कुनै ब्याबधान छैन , तोकिएकै समयमा निर्माण सक्नेछौ –उहाले भन्नुभयो ।