चन्द्रगढी विमानस्थलको स्तोरन्ततिको लागि चलखेल शुरु


भद्रपुर(ने.स)।

झापा भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको स्तोरन्ततिको लागि चलखेल शुरु भएको छ । जनप्रतिनिधि तथा स्थानीय सङ्घ–संस्था, सरोकारवाला पक्षसँग समन्वय नगरी टर्मिनल भवन र मुख्य प्रवेशद्धार सार्न चलखेल शुरु भएको प्रति सरोकारवालाले आपत्ति जनाएका हुन् । सो विषयको विरोधमा यहाँका स्थानीयले चन्द्रगढी विमानस्थल सरोकार एवम् संर्घष समिति समेत गठन गरेका छन् ।

विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउँदा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तर पट्टी सार्न खोजिएको भन्दै त्यसको विरोधमा भद्रपुरवासीले संर्घष समिति गठन गरेको हो । रुद्रप्रसाद चुडालको संयोजकत्वमा १३ सदस्य संर्घष समिति गठन गरिएको छ ।

संर्घष समितिले टर्मिनल भवन र मुख्य प्रवेशद्वारको विषयमा ध्यानाकर्षण गराउँदै केही दिन अघि झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई लिखित रूपमै ज्ञापनपत्र बुझाएका छन् । समितिका संयोजक चुडालले सो ज्ञापनपत्र वाचन गर्दै मन्त्री भट्टराईलाई बुझाउँनुभएको हो ।

जिल्लाको भद्रपुर नगरपालिका ८ स्थित चन्द्रगढी विमानस्थल वि.सं.२०२१ सालमा सञ्चालनमा आएको हो । घाँसे मैदानबाट उडान सुरुवात गरेको विमानस्थल अहिलेको अवस्था सम्म आइपुग्दा विकासे गतिविधिले फड्को मारेको छ ।

करिब एक वर्षअघि चन्द्रगढी विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर बिर्तामोडमा यहाँका स्थानीय तथा जनप्रतिनिधिलाई जानकारी नगराई डिपीआर पेस गरी अहिलेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरतर्फ सार्ने डिजाइन पेस गरिएको थियो ।

डिपीआरमै भवन र प्रवेशद्वार सार्ने खोजिएको डिजाइन बाहिर ल्याएसँगै त्यसको विरोधमा भद्रपुरवासी उत्रिएका थिए । स्थानीय विरोधमा उत्रिएपछि प्रवेशद्वार र भवन नसार्ने भनी विमानस्थलले आश्वासन दिएपछि माहौल शान्त भएको थियो ।

तर, अहिले फेरि क्षेत्रीय स्तरको विमानस्थल बनाउन खोज्दा भवन र प्रवेशद्वार सार्ने भनी चलखेल शुरु भएको थाहा पाएपछि स्थानीयले संर्घष समिति गठन गरेको स्थानीय किशोर कोइरालाले जानकारी दिनुभयो ।
विगत देखि दक्षिणतर्फ रहिआएको प्रवेशद्वार र टर्मिनल भवन उत्तरतर्फ सारिएको अवस्थामा यसको प्रत्यक्ष ठुलो असर भद्रपुरसहित क्षेत्र नम्बर ३ का बासिन्दालाई पर्ने उहाँको भनाइ छ ।

स्थानीय तहमा विषयगत कार्यालयहरू गएसँगै अहिले नै जिल्लाको सदरमुकाम सुनसान हुने गरेको र विमानस्थलको गेट सारिएमा यहाँको व्यापार व्यवसायमा असर पर्नुका साथै चन्द्रगढीको लेखनाथ चोकदेखि एसपी मोडसम्म मसानघाटको झझल्को आउने निश्चित भएको उहाँको धारणा थियो ।

कुनै प्राविधिक कारण बिना हचुवाको भरमा स्थानीय बासिन्दाहरूसँग सल्लाह नै नगरी भुमाफियाको दबाबमा परेर पेलेर नै लाने रणनीति अनुसार काम भइरहेको स्थानीयले महसुस गरेको उहाँको भनाइ छ ।

यसअघि पनि विमानस्थलको स्तोरन्ततिका लागि तयार पारिएको प्रस्तावित डिपीआरमा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तर पट्टी सार्न खोजिएको विरोधमा भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा, जिल्ला प्रशासन कार्यालय झापा र चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरलाई ध्यानाकर्षण गराउँदै लिखित रूपमै ज्ञापनपत्र बुझाएका थिए ।

वडा अध्यक्ष गौरव सुब्बा (मनोज) को नेतृत्वमा गएको टोलीले तत्कालीन अर्थमन्त्री खतिवडालाई झापाका प्रमुख जिल्ला अधिकारी र चन्द्रगढी नागरिक उड्डयन कार्यालयका ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै झापा उद्योग सङ्घ र झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरले यसअघि झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सोही विषयमा ज्ञापनपत्र बुझाइसकेका छन् ।