सञ्चारकर्मी शाक्यको परिवारलाई एक लाख रुपियाँ प्रदान


नेपाल समाचारपत्र, ललितपुर

नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ ।
पत्रकार राष्ट्रिय दबूले हालै पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोगस्वरुप सो रकम प्रदान गरेको हो । सो रकम पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्य र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्तरुपमा स्वर्गीय शाक्यकी पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गर्नुभयो ।

स्व. शाक्यले भाषा, साहित्य, संस्कृति र लिपिको विकासका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष वज्राचार्यले भन्नुभयो– ‘उहाँको निधनले छापा र रेडियो पत्रकारितामा उतिकै दखल भएको मातृभाषाका एक प्रतिभाशाली पत्रकार मुलुकले गुमाउनुपरेको छ ।’

पत्रकारितासँगै समाजमा राम्ररी भिजेर काम गर्ने शाक्यको सामाजिक सीप, सहयोगी भावना र व्यक्तित्वबारे चर्चा गर्दै अध्यक्ष वज्राचार्यले भन्नुभयो– ‘जोकोहीलाई पनि मर्दापर्दा दिलोज्यान दिएर सहयोग गर्ने उहाँको स्वभावले पत्रकारिता पेसालाई अझ प्रतिष्ठित बनाएको अनुभव गरेको छु ।’

पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले शुरुमा साहित्य, संस्कृति र मनोरञ्जनात्मक गतिविधिमा केन्द्रित नेपाल भाषाको रेडियो सञ्चारमाध्यमलाई राजनीतिक, समसामयिक विषयमा बहस छलफल चलाउने स्तरसम्म विकास गर्न शाक्यले निर्वाह गर्नुभएको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो ।

कार्यक्रम संयोजक एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जनताको ससूचित हुने हकका लागि अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरु गम्भीर बिरामी वा समस्या परेको बेला पत्रकार राष्ट्रिय दबूले अक्षयकोष स्थापना गरी र विभिन्न सहयोगी र शुभेच्छुकहरुको सहयोग पाएर यथोचित सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

सभामा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले विक्रम शाक्यले ललितपुरका विविध गतिविधिलाई सञ्चारसँग जोड्ने कार्यसँगै भाषिक समानता, जातीय समानताका लागि पत्रकारितामार्फत योगदान पु¥याउनु पैरवी पत्रकारिताको एउटा बलियो नजिर रहेको धारणा राख्नुभयो ।

एक जना श्रमजीवी पत्रकारले पेसागत दायित्वअन्तर्गत राजनीतिक सचेतता, भाषिक समानताका लागि कलम चलाउने सँगै सामाजिक भावना, अधिकारका लागि संघर्ष गर्ने कार्यमा समर्पित गर्नु सामान्य नरहेको बताउँदै महासचिव महर्जनले भन्नुभयो– ‘उहाँको समग्र योगदानलाई लिपिबद्ध गर्नुपर्ने खाँचो छ, ताकि उहाँको जीवनीबाट वर्तमान पुस्ता र नयाँ पुस्ताका पत्रकारहरु सधैं प्रेरित भइरहून् ।’

स्वर्गीय शाक्यकी पत्नी धनलक्ष्मी शाक्यले दुःखद घडीमा धैर्य बढाउन साथ, सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा उहाँका छोरा लुःज शाक्यको पनि उपस्थिति रहेको थियो । झन्डै तीन दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील शाक्यको ४९ वर्षको उमेरमा गत असोज १५ गते बिहीबार निधन भएको थियो ।