निजामती कर्मचारी सरुवाको निवेदन अनलाइनबाटै


नेपाल समाचारपत्र, काठमाडौं
अब निजामती कर्मचारीले सरुवाका लागि सिंहदरबार आउन नपर्ने भएको छ । संघअन्तर्गतका कर्मचारीले घरमै बसी अनलाइनबाटै सरुवाको आवेदन दिन सक्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाटै सरुवाको निवेदन दिने व्यवस्था शुरु गर्न लागेको छ । यसबाट सरुवामा हुने अनावश्यक चलखेलमा धेरै नियन्त्रण हुने मन्त्रालयले विश्वास लिएको छ ।
त्यसका लागि मन्त्रालयले वेबसाइटमा राख्ने अनलाइन सरुवा निवेदन दर्ता प्रणालीमा गएर कम्तीमा पाँचवटा रोजाइका ठाउँसहित आवेदन दिनुपर्नेछ । प्राप्त निवेदनमध्ये अवधि तथा ज्येष्ठताको आधारमा प्राथमिकताअनुसार कर्मचारी सरुवा हुने बुझिएको छ ।

मन्त्रालयले यसबारे निर्णय गरिसकेको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन भने अझै एक डेढ साता लाग्नेछ । कर्मचारीको सहजतासँगै काममा पनि बाधा नपरोस् र मन्त्रालयमा पनि भीडभाड नहोस् भन्नका लागि अनलाइनबाटै सरुवा निवेदन प्रणाली शुरु गर्न लागेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।

अब दुर्गम क्षेत्रका कर्मचारीले सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनुनपर्ने बताउँदै सचिव अर्यालले भन्नुभयो– ‘न त मन्त्रालयका कर्मचारीको अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा खर्चनुपर्नेछ ।’ यसले सरुवामा हुने अनावश्यक चलखेललाई पनि रोक्ने मन्त्रालयले विश्वास लिएको छ ।

सचिव अर्यालका अनुसार यसले सहज, पारदर्शीका साथै मन्त्रालयको अनावश्यक भारसमेत घट्न गई सरुवाबाहेकका काममा पर्याप्त ध्यान दिन सकिनेछ । कर्मचारीले सरुवा निवेदनसँगै अन्य कागजातहरू आवश्यक पर्ने भए त्यो पनि अनलाइनबाटै पठाउनुपर्ने मन्त्रालयको प्रशासन महाशाखाले जनाएको छ । सरुवा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन थप फिचरहरूसमेत परीक्षण गर्दै कार्यान्वयनमा लगिने मन्त्रालयले जनाएको छ ।

त्यसो त सामान्यले अनलाइनबाट सरुवा निवेदन दिने प्रणाली लागू गरेको यो पहिलोपटक भने होइन । यसअघि २०७३ मा तत्कालीन सामान्य प्रशासन मन्त्रालयले पनि विभिन्न इन्डिकेटरसहित सरुवा निवेदनदेखि चिठीसमेत अनलाइनबाटै गर्ने कार्ययोजना ल्याएको थियो ।