नेपाल प्रहरीमा एआईजी र डीआईजीको नयाँ दरबन्दी थप


काठमाडौं, (नेस)

नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नयाँ दरबन्दी थपिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीमा अब ४ एआईजी र १९ डीआईजी हुने भएका छन् । सरकारले नेपाल प्रहरीको संख्या वृद्धिसँगै माथिल्लो पदमा समेत दरबन्दी मिलान गरेको हो ।

प्रहरी संगठन संघीय ढाँचामा जाने भएपछि केन्द्रमा ४ जना एआईजी रहने भएका हुन् । थप गरिएको एआईजीको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहने भएको छ ।

थप गरिएको ५ डीआईजीहरुको दरबन्दी कार्य निर्देशनालय, अपराध अनुसन्धान निर्देशनालय, साइबर ब्युरो, प्रदेश समन्वय निर्देशनालय र अन्वेषण योजना तथा विकास निर्देशनालय रहेका छन् ।

एआईजी दरबन्दी थप भएपछि अब विश्वराज पोखरेलको बढुवा लगभग पक्कापक्की जस्तै देखिएको छ । उहाँ डीआईजीमा सबैभन्दा जेष्ठ हुनुहुन्छ । उहाँ अन्य डीआईजीभन्दा एक वर्षअघि नै डीआईजीमा बढुवा हुनुभएको थियो । उहाँ एआईजीमा बढुवा भएपछि नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक बन्नुहुनेछ ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको अनिवार्य अवकाशपछि पोखरेलले नेपाल प्रहरीको कमान्ड सम्हाल्नुहुने भएको छ ।

नेपाल प्रहरीमा अहिले ३ दरबन्दी खाली छ भने सरकारले ५ डीआईजीको दरबन्दी थपेपछि ८ जना डीआईजी बन्नेछन् । अब ८ डीआईजीका लागि एसएसपीहरु गणेश ऐर, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, दिलीप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जित, दिवेश लोहनी, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

दरबन्दी थप भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको प्रक्रियासमेत अघि बढाएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिनुभयो ।