खड्ग पायः जात्राको लोकार्पण

संस्कृति पुनःजीवन दिने सुत्र 

14
Shares

न्युज अफ नेपाल, ललितपुर ।

लोप भइसकेको जात्रा, पर्व कसरी पुनःजीवन दिने ? पुनःजीवन दिने क्रममा के कस्ता कठिनाईसंग जुध्नुपर्ने हुन्छ ? संस्कृति जोगाउने सवालमा यी प्रश्नहरु निकै महत्वपूर्ण छन् । । खड्ग पायः जात्रा पुस्तकले यसै प्रश्नको उत्तर दिने जमर्को गरेको छ ।

न्हूदँ नेपाल संवत् ११४१ को अवसर पारेर गत आईतबार सो पुस्तकको लोर्कापण गरियो । पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक बन्द भइसकेको पायः जात्रा पुनः सञ्चालनको लागि गुठीयार, नागरिक समाज, सञ्चारकर्मी र विभिन्न संघसंस्थाले गरेको भूमिकाबारे केन्द्रीत रहेको छ । साथै पुस्तकमा जात्राको ऐतिहासिक र सांस्कृतिक महत्वबारे उल्लेख गरिएको छ ।

यल सांस्कृतिक पर्व संरक्षण समितिले हालै पाटन संग्रहालमा एक समारोहको आयोजना गरी सो पुस्तकको लोकार्पण गरिएको थियो । ललितपुर क्षेत्र नं २ का संघीय सांसद् कृष्णलाल महर्जन, वाग्मती प्रदेशका सांसद् शोभा शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन र निवर्तमान अध्यक्ष अजरमान जोशीले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।

संस्कृति जोगाउन को को जुटे ?

लिच्छिविकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महत्वको पायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । त्यसैगरी ठेचोको नवदुर्गा नाच विजया दशमीको दिन पट्कोमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि रोकिएको थियो ।

नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्र मार्फत निरन्तर पैरवीसंगै तीन जना पत्रकार नेपाल समाचारपत्र दैनिकका सहायक सम्पादक सुनील महर्जन, लेखक माली र नेवाः पत्रका राष्ट्रिय दबू ललितपुर शाखाका पूर्व सचिव राजेश बज्राचार्यले शुरूमा संयोजनकारी भूमिका निर्वाह गर्नुभएको विषय पुस्तकमा उल्लेख गरिएको छ ।

तीन जना पत्रकारको अगुवाई र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा २०७३ असोज १३ गते पहिलो पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूको बृहत् गोष्ठी आयोजना गरेको थियो । नाच पुनः सञ्चालनका क्रममा गोष्ठीमा उठाईएको माग, समस्या समाधान, सरोकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीका लागि तत्कालीन वाणिज्य संघको अध्यक्ष सविन श्रेष्ठ संयोजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरेको थियो ।

समितिले २०७३ चैत्र १५ गते मंगलबार जिल्ला विकास समितिको सहयोगमा संस्कृति संरक्षणमा दीगो विकास ः समस्या, चुनौती र अवसर विषयक अन्र्तक्रिया गोष्ठी तथा बृहत सरोकारवाला भेला आयोजना गरी नाच संञ्चालनको लागि सरोकारवालासंग संवाद गर्ने भेला, डेलिगेशन र ज्ञापनपत्र बुझाउने नीष्कर्ष निकालेको थियो । संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएपछि २०७५ सालको दशैताकादेखि पायः जात्रा संञ्चालन भएको थियो । यसले गर्दा ललितपुरमा अमूर्त संस्कृतिको जर्गेनामा ठूलो टेवा पुगेको संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

सो समारोहमा संस्कृति संरक्षणमा जुट्ने सबैलाई सम्मान गरिएको थियो ।सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकारहरू क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्यलाई सम्मान गरिएको थियो । संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी सम्मानित हुनेहरुमा पाटन दरवारको मूछेँ आ“गम घर, ठेचोको नवदुर्गा गुठी, धंगु खलः हौगः, नेपाल राष्ट्रिय खड्गी समाल यल, काः मंका गुठी च्यासल, कायगुननी कजी खलः पायो गुठी, मुहाली खलः, नवदुर्गा धिमे पुचः ठेचो, नवदुर्गा महिला समूह ठेचो, कात्तिक नाच संरक्षण समिति, अष्टमातृका नाच व्यवस्थापन समिति, पाटन पटुको टोल सुधार समिति, तझ्याः पायः छन् । व्यक्तिगत रुपमा सम्मानित हुनेहरुमा  ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष सविन श्रेष्ठ, सुरेन्द्र माली, र विकास खड्गी रहनुभएको छ ।