खुलामञ्चको निःशुल्क भोजन अब थापाथलीमा


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार बुधबारबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिकै खाना खुवाउन शुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पहिला जसरी नै खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालनजिक लगी खानाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिकरुपमा काम गर्न नसक्ने महानगरबासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ।’ –सापकोटाले भन्नुभयो । अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाबीच निरन्तर छलफल भइरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भइरहेको उहाँले बताउनुभयो ।

‘हामी अहिले पनि निःशुल्क भोजन गराउँदै आएका संस्थासँगकै पहलमा उपयुक्त ठाउँ खोजिरहेका छौं’, उहाँले भन्नुभयो– ‘केही दिनभित्रै हामी व्यवस्थापन गर्ने गरी लागेका छौं ।’ उहाँले निःशुल्क भोजन गराउने स्थानमा शौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भइरहेको भन्दै अस्थायीरुपमा उक्त स्थानमा व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

उहाँले पायक पर्ने अन्य पाँच–छ ठाउँ खोजी भइरहेको जानकारी दिनुभयो । कामपाले महानगर क्षेत्रभित्र बस्दै आएका असहाय, अशक्त तथा शारीरिकरुपमा काम गर्न नसक्नेलाई कामपाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराइएको छ ।

कामपाले खान नपाएका नागरिकलाई नजिकका वडा कार्यालय वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिलसमेत गर्दै आएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड बढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।