ट्राफिक नियम सिकाउँदै ३ सय ८० प्रहरी


काठमाडौं, (नेस)

सवारी चालकहरूलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम रोकी, हेरी र जाऊँलाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन् ।

सवारी चलाउँदा विशेष गरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानीजस्ता नियमहरुको पालना गर्नुपर्ने भए तापनि कतिपय सवारी चालकले त्यसो नगरेपछि ट्राफिक प्रहरी अहिले बाटोमा खटिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मूल सडकमा सहजै निस्कन ट्राफिक संकेत बोर्डको पालना गराउन ३ सय ८० वटा शाखा सडकमा ३ सय ८० जना ट्राफिक प्रहरी खटाएको छ ।

सवारी चालकले भित्री सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाऊँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन विभिन्न चोकमा ३ सय ८० जना ट्राफिक प्रहरी खटाइएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताउनुभयो ।

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३–३ घण्टा ट्राफिक प्रहरी खटिने भएका छन् । बुधबार बिहान मात्रै ३ हजार ५ सयको हाराहारीमा सवारी चालकहरुलाई उक्त संकेत बोर्डको महत्वका बारेमा सम्झाई बुझाई गरी नियम पालना गर्नसमेत आग्रह गरेको एसएसपी ढकालले जानकारी दिनुभयो ।

यस्ता बोर्डहरू काठमाडांै उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व–अनुशासित भई उक्त रोक, हेर र जाऊँको नियम पालना गरी जाम तथा दुर्घटनारहित सहज यात्रा गरी सभ्य सडक संस्कृतिको विकास गरिदिन सवारी चालकलाई अनुरोध पनि गरेको छ ।