सार्कका महासचिवको एक रुपियाँ सहयोग


भैरहवा, (नेस)

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निर्माणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपियाँ दिएर अभियानको शुरुआत गर्नुभएको छ । गुम्बा निर्माणका लागि लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।

लुम्बिनीमा शनिबार आयोजित सार्वभौमिक शान्तिका लागि ‘एक रुपियाँ’ अभियान कार्यक्रममा उहाँले बुद्धको जन्मभूमिमा निर्माण भइरहेको सेन्चुरी फर युनिभर्सल पिसले विश्वभरिका शान्तिप्रेमीहरुका लागि भएकाले यस अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो ।

विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट लुम्बिनीमा उक्त गुम्बाको निर्माण भइरहेको छ ।

धर्म गुरु श्याल्पा तेन्जिङ रिन्पोछेले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको अभियानको केन्द्रका रुपमा विकास गर्न सेन्चुरी फर युनिभर्सल पिस निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले एक रुपियाँ सहयोग गरेर अभियानको शुरुआत गरिदिनुभएकोमा सार्कका महासचिव विराकुनलाई धन्यवाद दिनुभयो ।

गुम्बा निर्माणका लागि ‘एक व्यक्ति एक रुपियाँ’को अभियान अगाडि सारिएको छ । बुद्धको शिक्षाअनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने विश्वास व्यक्त गर्दै रिन्पोछेले मुठ्ठी दानको अवधारणाबाट यो अभियानको शुरुआत गरिएको बताउनुभयो । दीपावलीको अवसर पारेर शुरु गरिएको अभियानमा नेपालमा १ रुपियाँ तथा बाहिरी मुलुकहरुमा १ यूएस डलर दान गरेर सहभागी हुन सकिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा महासचिव विराकुन र श्रीलंकाका मेडम कृशन्तीका साथै श्रीलंकन विहारका धर्मगुरुको सहभागिता रहेको थियो ।